योजना तथा कार्यक्रममा कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकता दिन दोधारा चाँदनी नगरपालिकामा ज्ञापन पत्र

पप्पु गुरुङ्ग, दोधारा । स्थानीय विपद् व्यवस्थापन समिति र कृषि समूहहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन साथै समग्र कृषि सुधार, स्थानीय उत्पादन तथा बजारीकरणका विषयलाई प्राथमिकतामा राख्न स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। दोधारा चाँदनी नगरपालिकाका कृषि समूहहरू, सामुदायिक विपद् व्यवस्थापन समितिहरू तथा उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरूको सक्रियतामा आईतबार नगरपालिकाका उप–प्रमुख गंगा जोशी र प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रलाई दुई वटा छुट्टाछुट्टै ज्ञापनपत्र पेश गरिएको हो।

नगरपालिका भित्रका कृषि समूहहरूले पेश गरेको ज्ञापनपत्रमा कृषकको आत्मनिर्भरता, स्वदेशी उत्पादनको प्रवर्द्धन र कृषि–पशुपालन व्यवसायीकरणका लागि २० बुँदे मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्रमा भारतबाट अत्यधिक मात्रामा भित्रिने विषादीयुक्त तरकारी तथा खाद्यवस्तु नियन्त्रण गर्नुपर्ने, स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न एकीकृत कृषि हाटबजार निर्माण, सिंचाइ सुविधा विस्तार, बीउ र मलको पारदर्शी वितरण, पशु रोग रोकथामका लागि शिविर, पशुपालन फार्म प्रमाणीकरण तथा बीमा प्रोत्साहन जस्ता विषयहरू समेटिएका छन्।

त्यस्तै, नगरपालिकाका विभिन्न वडामा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल निर्माण, उद्धार तथा राहत व्यवस्थापन, जोखिम नक्साङ्कन, बायोइन्जिनियरिङ योजना लगायतका विषय कार्यान्वयन गर्नुपर्ने मागसहित १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्। तटीय क्षेत्रमा दोहोरिरहने बाढी, डुबान, चट्याङ, आगलागी, तातो हावाको प्रभाव, मानव–जंगली जनावर द्वन्द्व जस्ता समस्याको समाधानका लागि सुरक्षित संरचना, सामुदायिक सीप अभिवृद्धि, विपद् कोष निर्माण, सायरन तथा सूचना प्रणालीको सुधार जस्ता कार्यक्रम सञ्चालनको माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक बसन्ती सुनारले जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेकाले थप जोखिम बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै, विपद् जोखिम न्यूनीकरणका लागि पालिकाले सशक्त कदम चाल्नुपर्ने बताउनुभयो।

ज्ञापनपत्र बुझ्दै नगर उप–प्रमुख गंगा जोशीले स्थानीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन र कृषि प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले विपद् पूर्वतयारी कार्यक्रम सञ्चालन तथा स्वदेशी कृषि उत्पादन प्रवर्द्धनका लागि आवश्यक कामहरू अघि बढाइने आश्वासन दिनुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले ज्ञापनपत्रमा उठाइएका बुँदाहरू महत्वपूर्ण रहेको भन्दै नगरपालिकाले ती मागहरूलाई यथासम्भव नीति तथा कार्यक्रममा समावेश गर्दै कार्यान्वयनका लागि पहल गरिने बताउनुभयो। उहाँले विपद् जोखिम न्यूनीकरण र कृषि क्षेत्रको सुदृढीकरण दुवै स्थानीय सरकारका प्राथमिक एजेन्डा भएको स्पष्ट पार्नुभयो।

स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण र कृषि क्षेत्रको सुदृढीकरणलाई रणनीतिक प्राथमिकताका रूपमा अघि सार्दै सामुदायिक सहभागिता विस्तार हुनु सकारात्मक संकेत हो। आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत मागहरू समावेश भई कार्यान्वयनमा आएमा दोधारा चाँदनी नगरपालिकामा दिगो विकास, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र कृषि आत्मनिर्भरताको लक्ष्य प्राप्त गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ।

ताजा समाचार

spot_img