दोधारा । बाढी तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि नगर प्रहरी लक्षित तिन दिने तालिम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर, निड्स नेपाल तथा अक्सफामको संयुक्त आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो । तालिममा १५ जना नवगठित नगर प्रहरीको सहभागिता रहेको थियो । बाढीजन्य जोखिम बढ्दो अवस्थामा रहदा नगर प्रहरीको तत्काल प्रतिक्रिया क्षमतालाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुद्दढ परियोजना संयोजक राजकुमार सुनारले दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखिममा रहेको क्षेत्र भएकाले मनसुनको सुरुआत संगै नगर क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । आवश्यकताका आधारमा नगर प्रहरीलाई लक्षित तिन दिने तालिम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको सभा कक्षमा आयोजित तालिमको समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा जोशी, नेपाल रेडक्रस सोसाईटी लगाएत विभिन्न संघ–संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को अवस्थामा नगर प्रहरी अग्रपंक्तिमा खटिने भएकाले उनीहरुको दक्षता अभिवृद्धि अति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले हाल मनसुन सुरु भईसकेको उल्लेख गर्दै आगामी केही महिना संवेदनशील हुने बताउनुभयो । यस्तो अवस्थामा नगर प्रहरीलाई व्यवहारिक तालिम दिएर समुदायको सुरक्षामा खटिन दक्ष बनाईदै गएको जानकारी उहाँले दिनुभयो ।

नगर प्रहरीहरुलाई व्यवहारिक सीप र ज्ञानले सशक्त बनाउदै तालिमले विपद् व्यवस्थापनमा उनीहरुको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ् ।






