झलारी : दलित समुदायको पेशा व्यवसायलाई आधुनिककिरण गर्नका लागि शुक्लाफाँटा नगरपालिका १२ को वडा कार्यालयले मेसिन वितरण गरेको छ ।अति विपन्न दलित परिवारलाई सीपमा आधारित जिविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सघाउनका लागि मेसिनरी तथा औजार वितरण गरेको हो ।परम्परागत सीपमा आधारित पेशा व्यवसाय सञ्चालनका लागि मेसिनको अभाव भएका पाँच जना दलित समुदायका व्यक्तिलाई मेसिन वितरण गरिएको छ ।

वडा अध्यक्ष नवल सिंह रानाका अनुसार एक जनालाई जुत्ता/छाला सिउने मेसिन, दुई जनालाई इन्टरलक सहितको कपडा सिलाई गर्ने मेसिन, र दुई जनालाई फलामका औजार निर्माण गर्ने मेसिन(आरन) वितरण गरिएको छ । आवश्यक अन्य औजार समेत मेसिन संगै उपलव्ध गराईएको उहाँले बताउनु भयो । “दलित समुदाय मेसिन लगायतका सामग्री खरिद गर्नका लागि आर्थिक अभाव भएपछि पेशापलायन हुन थालेका थिए” अध्यक्ष रानाले भन्नुभयो, “परम्परागत पेशा जगेर्ना गर्ने उद्देश्य संगै व्यवसायीक कार्य गरेर जिविका चलाउन सहज होस भनेर मेसिन तथा औजार वितरण गरेका हौं ।”मेसिन उपलव्ध गराएका दलित समुदायका व्यक्तिहरुले पेशा व्यवसाय गरे नगरेको बारे अनुगमनको कार्य गरिने उहाँले उल्लेख गर्नु भयो ।“

अनुगमन गरी पेशा व्यवसाय सञ्चालन गर्दा भएका कठिनाई बारे सोधपूछ गर्छौ” उहाँले भन्नुभयो, “पेशा चलाउन आवश्यक पुजिँको अभाव भए वितिय संस्थाहरु सम्मको पहुँच पुरयाउनका लागि समन्वयको कार्य गर्छौ ।” “मेसिन नहुदा परम्परागत छाला जुताको कार्य गर्न निकै कठिन रहेको थियो” राम बहादुर सार्कीले भन्नुभयो, “सबै कार्य हातैले सिएर गर्नु पर्दथ्यो, ग्राहकलाई भनेको समयमा जुत्ता उपलव्ध गराउन नसक्दा थोरै आम्दानी हुदा परिवारको खर्च चलाउन मुश्किल थियो ।”मेसिन पाईए पछि कार्य गर्न सहज हुनुका साथै हातले सिउने कार्य मेसिनले गरिने भएकाले आम्दानी पनि बढने उहाँले उल्लेख गर्नु भयो । मेसिनले कार्य गर्न सहज हुने भएकाले विगतको जस्तो परिवार पाल्नका लागि भारतको मुख ताक्नु नपर्ने उहाँको भनाई रहेको छ ।







