कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ मुडका(मणिका धाम) क्षेत्रमा तिर्थालुहरुका लागि रु दुई करोड ११ लाख बढीको लागतमा धर्मशाला निर्माणको कार्य अगाडी बढाईएको छ । धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटन विभागको लगानीमा धर्मशाला निर्माण हुन लागेको हो । विभागका इन्जिनियर हरिश भट्टका अनुसार धर्मशाला निर्माणको १५ प्रतिशत कार्य पुरा भएको छ । शिवलिङ्ग निर्माण सेवाले धर्मशाला निर्माणको कार्य गरि रहेको छ ।

धर्मशाला भवनमा एक वटा हल, स्टेज, दुई वटा स्टोर रुपमा निर्माण हुने छन । महिलामैत्री, अपाङ्गमैत्री सहित तीन वटा सौचालय, स्नान घर निर्माण गरिने इन्जिनियर भट्टले बताउनु भयो । भवन भूकम्प प्रतिरोधी र सुरक्षित हुने तरिकाले निर्माण भैरहेको उहाँले बताउनु भयो । धर्मशाला भवन चालु आवको असार मसान्त भित्रै निर्माण कार्य सक्ने लक्ष्य लिईएको छ ।
पर्यटन विभागले सात वटै प्रदेशका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशको मुडाकामा धर्मशाला भवन निर्माण भैरहेको बताईएको छ ।

मुडाका मन्दिरका कारिन्दा डम्बर बहादुर ऐरले धर्मशाला भवन निर्माण भएपछि धार्मिकजनहरुलाई वास बस्ने कार्यमा सहजता संगै भजनकिर्तन गर्ने ठाउको अभाव पूर्ति हुने बताउनु भयो ।भवन गुणस्तरीय र मादण्ड अनुसार निर्माण गरिनु पर्ने उल्लेख गर्नु हुदै उहाँले मन्दिर व्यवस्थापन समितिका तर्फबाट नियमित अनुगमनको कार्य हुदै आएको बताउनु भयो । मुडाका क्षेत्रमा भरपर्दो भौतिक पूर्वाधार नहुदा धार्मिकजनहरुले सास्ती खेप्दै आएका थिए । प्रतिनिधि सभा सदस्य एनपी साउदको पहलमा धर्मशाला निर्माण गरिन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन हमालले बताउनु भयो ।







