सडक निर्माणमा लापरबाही: अध्यक्ष साउँदको आन्दोलन, आजबाट सडकमै सेवा दिने घोषणा


कृष्णपुर:– कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन साउँदले बंङ्क-नायल-बुडर सडक निर्माण कार्य अलपत्र परेको भन्दै आइतबारबाट आन्दोलनस्वरूप सडकमै अस्थायी कार्यालय स्थापना गरी सेवाग्राहीलाई सेवा दिने घोषणा गरेका छन्।

वडा अध्यक्ष साउँदले पटक–पटक सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीलाई ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढेपछि सडकको प्रारम्भिक विन्दुमा सेवा प्रवाह गर्ने निर्णय गरेका हुन्। बिहीबार जारी गरिएको सूचनामा उनले यथाशीघ्र कालोपत्रे सडक निर्माणको माग गर्दै सम्बन्धित निकायलाई दबाब दिन अस्थायी कार्यालय सञ्चालन गरिने उल्लेख गरेका छन्। पत्रमा सम्बन्धित निकायलाई बोधार्थका रुपमा जानकारी समेत गराइएको छ।

सडक निर्माणका लागि २०७७ साउनमा ठेक्का सम्झौता भएको भए पनि २०८० असारसम्म पूरा गर्नुपर्ने कार्य हालसम्म अलपत्र रहेको छ। निर्माण कम्पनी सन्तोषी थेगिमले सुरुवाती चरणमा ३०% मात्र काम गरेको र पछिल्ला दुई वर्षदेखि निर्माण स्थगित गरिएको छ।

यसै विषयमा अध्यक्ष साउँदले केही दिनअघि पुर्वाधार विकास कार्यालय, कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र निर्माण कार्य सुरु नभए सडकमै बसेर सेवा दिने चेतावनी दिएका थिए। कार्यालयका प्रमुख योगेन्द्र अधिकारीका अनुसार निर्दिष्ट अवधिमा निर्माण अघि नबढाए सार्वजनिक खरिद ऐन तथा खरिद सम्झौता बमोजिम ठेक्का तोडिने जनाइएको छ।

स्थानीय बासिन्दाले सडक समयमै निर्माण हुन नसक्दा आवतजावतमा कठिनाइ बेहोर्नु परेको र धुलो धुवाका कारण स्वास्थ्य समस्यासमेत भोग्नु परेको गुनासो गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img