झलारी : श्रीकृष्ण सामुदायिक वनले अमरपुरका युवाहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ। भलिबल खेलमा रुचि राख्ने अमरपुरका युवाहरूलाई सामुदायिक वनले खेल सामग्री हस्तान्तरण गरेको हो। वन वातावरण संरक्षणसँगै सामाजिक विकास र समृद्धिका विभिन्न कार्यक्रमहरू गर्दै आएको श्रीकृष्ण सामुदायिक वनले अमरपुरका युवाहरुलाई भलिबल खेलमा सहयोग पुर्याउने उद्देश्यले एक थान भलिबल र एक थान नेट हस्तान्तरण गरेको छ।

अमरपुरका युवाहरूको मागका आधारमा श्रीकृष्ण सामुदायिक वनले भलिबल खेल सामग्री हस्तान्तरण गरेको सामुदायिक वनका अध्यक्ष अमर ऐरले बताउनुभयो। अध्यक्ष ऐरले खेलकुद भावनाको विकास र खेलकुद विकासका लागि युवाहरूलाई आवश्यक सहयोग गर्दै आएको बताएका छन्। विभिन्न कुलतमा फसिरहेको समयमा युवाहरूलाई खेलकुद मार्फत अनुशासित र खेल भावनाको विकासका लागि सामुदायिक वनले आगामी दिनमा युवाहरुको लागि आवश्यक सहयोग गर्ने अध्यक्ष ऐरले जानकारी गराउनुभयो ।







