कञ्चनपुर : एक विवाहित जोडीले आफ्नो विवाहको दोस्रो वर्षगाँठ बाल अनाथालयमा बालकहरू सँग मनाएको छ । भीनपा १२ बस्ने निवासी अनिल देउपा र शारदा खत्री (देउपा)को २०७९ साल माघ १ गतेका दिन शुभ विवाह भएको हो । उनीहरूले आफ्नो दोस्रो वैवाहिक वर्षगाँठ भीनपा ४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा मनाएका छन् ।


अहिले सर्वत्र महँगो रुपमा समाजमा तडक भड्क देखाएर जन्मदिन, वैवाहिक उत्सव मनाउने गरेको देख्न पाइन्छ । तर देउपा दाम्पत्य जोडीले भने बाल अनाथालयमा रहेका बालकहरूलाई एक जोड न्यानो कपडा, फलफूल र मिठाई दिदै मनाएका छन् ।

हाल शारदा खत्री (देउपा) वैदेशिक रोजगारीको सिलसिलामा विगत एक वर्ष देखि जापानमा बस्दै आएकी छन् । आज उनका श्रीमान अनिल देउपा र वहाँको परिवारले समाज कल्याण अञ्चल बाल अनाथालयकी सदस्य भगवती थापालाई हस्तान्तरण गरेका थिए ।







