सञ्जु महर /कञ्चनपुर – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सलाई स्तब्ध पार्दै जनकपुर बोल्ट्सले उपाधिमाथि कब्जा जमाएको छ । यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो । १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्था नायक बने । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।
एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।