झलारी ः लैंङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सरोकारवालहरु संगको परामर्श बैठक साथी संस्थाक आयोजनामा झलारीमा सम्पन्न भएको छ । साथी संस्थाका संयोजक पार्वती भण्डारीको सभापतित्वमा आयोजना गरिएको बैठकका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महराले बैठकमा मन्तव्य राख्नु हुदै सद्भाव कायम गरी समाज बन्ने भएकाले लैंङ्गिक हिंसा न्यूनिकरण गरि आत्मियतालाई बढाउदै लैजानु पर्ने बताउनु भयो । वास्तविकतालाई आत्मसात गर्दै राम्रा पक्षको पक्षपोषण गर्दै गलत कार्यको विरोध गर्नु पर्ने उहाँको भनाई थियो । समाजमा विद्यमान विकृति विसंगतीलाई हटाउन गैरसरकारी संस्थाको अहं भूमिका रहेको उहाँले बताउनु भयो ।

श्रीमान श्रीमती विचको सामान्य आपसि मनमुटावलाई अतिरञ्जित गरी ठुलो विषय बनाएर घरनै भाँडने कार्य गर्नमा लाग्नु नहुने उहाँले उल्लेख गर्न भयो । हिंसाका घटना भए नगरपालिकामा न्यायिक समिति छ उहाँले भन्नुभयो, त्यहाँ उजुरी आए मेलमिलापको माध्यमबाट उजुरीको छिनोफानो हुन्छ ।
बैठकमा सहभागी शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना पन्तले हिंसाका घटना न्यूनिकरण गर्नका लागि आफुबाटै म हिंसा गर्दिन भन्ने भावनाको विकास भए हिंसा आफै नियन्त्रण हुने बताउनु भयो । कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती रानाले ऐन कानुन जति बनेपनि लैंङ्गिक हिंसाका घटना नियन्त्रण हुन नसकेको बताउनु भयो । उहाँले ९५ प्रतिशत महिला हिंसामा पर्ने गरेको दावी गर्नु भयो ।
शुक्लाफाँटा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले हिंसाका घटनाले समाजमा जटिल समस्या ल्याउने चर्चा गर्नु हुदै हिंसा गरे हुने सजाय बारे सचेत पार्न आवश्यक रहेको बताउनु भयो ।

हिंसाका घटनाका दोषिलाई कानुनी रुपमा कारवाही नगरे सम्म हिंसाले प्रश्रय पाउने उहाँको भनाई थियो । यस बारे सचेत नागरिकले हिंसा हुन नदिनका लागि प्रहरी र न्यायिक निकायमा सूचना उपलव्ध गराए अपराध हुनबाट जोगाउन सकिने बताउनु भयो । कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुनबहादुर साउदले म हिंसा गर्दिन भनेर भित्रै मन देखि प्रतिवद्ध हुनु पर्ने बताउनु भयो । संस्थाले सञ्चालन गरेको परियोजना अन्र्तगत सञ्चालन गरिएको आत्मरक्षा तालिमको प्रभावले वडाका युवतीहरु सुरक्षा निकायमा जागिरे भएको बताउनु भयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले लैङ्गिगक हिंसाका उजुरी आएमा गोपनियता कायम गरी उजुरी बारे अनुसन्धान गरी कानुनी प्रकृया अगाडी बढाउदै आएको बताउनु भयो । हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउनका लागि प्रहरी कर्तव्य निष्ट भएर कार्य गर्दै आएको उहाँको भनाई थियो ।बैठकमा साथी संस्थाले गरि रहेका गतिविधि र चुनौतीका बारे संस्थाको सेफ हाउसका प्रमुख उर्मिला शाही(चन्द)ले ंंबैठकमा जानकारी गराउनु भएको थियो ।
साथी संस्थाले सञ्चालन गरेको परियोजना गोलले गरेका क्रियाकलाप बारे संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख पार्वती भण्डारीले परियोजना अन्र्तगत वडा कार्यालयको समन्वयमा छ सय बढी विद्यार्थीहरुलाई आत्मरक्षा तालिम मार्फत जिवन उपयोगी सीपबारे सचेतना, आठ सय ६१ जना कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई अनलाईनबाट हुने हिंसा र साइवर सुरक्षा सम्बन्धी सेचतना,आयआर्जनमा सुधारका लागि १२ जना हिंसा प्रभावितहरुलाई बाख्रा,गाईपालन र किराना पसलका लागि सहयोग गरिएको जानकारी दिनु भयो ।
यसैगरी उहाँले नौजना हिंसा प्रभावितलाई आवश्यक सहयोग संगै कानुनी सहयोगका लागि समन्वय तथा सहजिकरण, संवादका कार्यक्रम मार्फत सुरक्षित विद्यालय निर्माणका लागि सचेतना प्रदान गर्ने कार्य संगै स्थानिय सरकारको समन्वयमा विभिन्न दिवसका अवसरमा विभिन्न सचेतना कार्यक्रम आयोजना गरिएको उहाँले बैठकका सहभागीहरुलाई बताउनु भयो । साथी संस्थाले कृष्णपुर नगरपालिकाको वडा नं २ र शुक्लाफाँटा नगरपालिकाको वडा नं ११ मा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि गोल परियोजना सञ्चालन गरेको छ । परियोजना दुई वर्ष सम्म सञ्चालन हुने बताईएको छ । परामर्श बैठकको सञ्चालन गोल परियोजनाका सामाजिक परिचालक कमलराज जोशीले गर्नुभएको थियो ।






