एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

दोधारा । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १, २ र ५ मा रहेका भकुण्डा, दशरथबस्ती, गणेशबस्ती, रातोताल र उदरी समुदायमा सिचाईको समस्यालाई मध्यनजर गर्दै १० थान सिचाई मोटर वितरण गरिएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकाया, वडा नम्बर २ का वडा सदस्य ईश्वर थापा, कृषि विकास शाखा प्रमुख कर्णबहादुर शाही र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संयुक्त रूपमा विपद् व्यवस्थापन समितिहरूलाई विद्युतीय कृषि मोटर हस्तान्तरण गर्नुभएको हो।

एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एमरेड परियोजनाले उखु खेति साथै बेमौसमी तरकारी खेतीलाई प्रवर्धन गर्दै आएको बताउनुभयो। उहाँले विपद्को जोखिममा रहेका किसानहरूको आयआर्जनमा वृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनिकरणमा टेवा पुऱ्याउने उदेश्यले सामुदायिक विपद् व्यवस्थापन समितिको सिफारिसमा अगुवा किसानहरुलाई सिचाई मोटर वितरण गरिएको बताउनुभयो।

पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकायाले एनएनएसडब्ल्यूएले साना किसानहरूका लागि कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि ठूलो योगदान पुऱ्याएको बताउनुभयो। उहाँले समुदायले पनि बोर र पाइप फिटिङ्गका कामहरूमा लगानी गरेकाले समुदायलाई सिचाईको लागि निकै सहज हुने बताउनुभयो।

आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले विशेषगरी कञ्चनपुर जिल्लास्थित दोदा नदि, सुनबरा र स्याली नदीबाट बाढी, कटान, तथा पटानको उच्च जोखिममा रहेका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ११ वटा समूदायमा प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भौतिक, मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षतिलाई कम गर्न समुदायकै अग्रसरतामा विपद् जोखिम न्यूनिकरणका क्रियाकलापहरू गर्दै आईरहेको छ।

ताजा समाचार