झलारी : खोपको महत्व बारे सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले शुक्लाफाँटा नगरपालिका ११ स्थीत आधारभूत स्वास्थ्य केन्द्र दीपनगरमा समुदाय स्तर खोप सेवा सुदृढीकरणका लागि सरोकारवालाहरु संग एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजना तथा युनिसेफको आर्थिक सहयोगमा आयोजित कार्यक्रमको सभापतित्व वडा नं ११ का कार्यवाहक वडा अध्यक्ष शान्ति देवी ऐरले गर्नु भएको थियो । स्वास्थ्य निर्देशनालयका खोप शाखाका प्रमुख मिनराज जोशीले दादुराको आसंका गरिएका सङकलित नमूनाको नतिजा नेगेटिभ आएकाले डराउनु पर्ने अबस्था नरहेको बताउनु भयो । उहाँले नियमित खोपको पूर्ण मात्राबाट कोही पनि बालबालिका छुटनु नपर्ने बताउनु भयो ।

उहाँले खोपको प्रभावकरीतालाई बढाउनका लागि समुदाय स्तरमा जनचेतना फैलाउने कार्य संगै खोप नलगाएका, खोपको पूर्ण मात्रा लगाउनबाट छुटेका बालबालिकालाई खोप कार्यक्रममा समेटनु पर्ने बताउनु भयो । बालबालिकालाई नियमित खोप लगाए महामारीजन्य रोगको संक्रमणबाट जोगाउन सकिने उहाँको भनाई थियो । युनिसेफका असोक जोशीले सामाजिक मूल्यमान्यता, रितिरिवाज, धार्मिक मान्यताका कारण बालबालिकालाई खोप नलाउने चलन समाजमा विद्यमान रहेकाले त्यसलाई परिवतर्न गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यालय भर्ना हुने, वडा कार्यालयमा जन्म दर्ता गर्दा खोप लगाएको न लगाएको बारे जानकारी लिई खोप नलगाएको भए खोप लगाउनका लागि अभिभावकलाई उप्रेरित गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

असल खानपान बारे पनि विद्यालयमा छलफल चलाईनु पर्ने उहाँको भनाई थियो । खोपको विद्यमान अबस्था बारे उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा सदस्य राजेश शाही, स्वास्थ्य निर्देशनालयका जन स्वास्थ्य अधिकृत बिरेन्द्र नाथ, स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवँर, शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट, स्वास्थ्य शाखाका पदमराज भट्ट, विद्यालयका प्रद्यानाअध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन आधरभूत स्वास्थ्य केन्द्र दीपनगरका प्रमख कृष्णराज जोशीले गर्नु भएको थियो ।







