कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ मा रहेको भुजेला खोलामा सफाइ गरिएको छ। भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा नगरकै सबैभन्दा ठुलो खोलामा पहिलो पटक सफाइ गरिएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्।

वर्षाको समयमा भुजेला खोलाको सतह बढेर गाउँबस्तीमा पसेर खोलाले गर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न उक्त प्रयास थालिएको उनको भनाई रहेको छ। वर्षाको समयमा प्रत्येक वर्ष भुजेला खोलाको सतह बढेर गाउँमा पसेर स्थानीयलाई समस्या भइरहेको हुँदा वर्षा हुनु अगावै खोलामा सफाइ गरिएको उनी बताउँछन्।

भीमदत्त -११ का एकजना स्थानीयले वर्षाको समयमा खोलाले प्रत्येक वर्ष गाउँबस्तीमा पसेर क्षति गरिरहेको बताए। ‘प्रत्येक वर्ष वर्षाको समयमा भुजेला खोला गाउँबस्तीमा पसेर क्षति गरिरहेको छ।, पोहोर साल मेरो खोका नै बगाएको थियो।’ उनले भने, ‘धेरै पहिला नै यो काम हुनुपर्ने कार्य हो तर कसैले गरेन यो साल यो कार्य गर्नुहुने वडा अध्यक्ष र वडा कार्यालय प्रति आभारी छौँ।’

सोमबार भुजेला खोलाको ८०० मिटर क्षेत्रमा सफाइ गरिएको छ। खोलामा सफाइ गरिएसँगै वर्षाको समयमा खोलाको सतह नबढ्ने विश्वास लिइएको छ। भुजेला खोलामा पहिलोपटक सफाइ गरिएको वडा कार्यालयले जनाएको छ।






