शुक्लाफाँटा पूर्णखोप पालिका घोषणा


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकालाई आज एक समारोहका विच पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपनाउनु पर्ने सबै प्रकृया पुरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।
नगरपालिकाका १५ महिना भित्रका बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताउनु भयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ महिना देखि २३ महिना सम्म उमेर समुहका बालबालिकाहरुमा खोप अबस्थाको पहिचान र विश्लेषणको कार्य गरिएको छ ।
पूर्णखोप पाउने उमेर समुहका तीन हजार २८ बालबालिका मध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका
छन । बसाई सार्ने, मजदुरीका लागि टाढा जाने लगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन । इटाभट्टा लगायतका मजदुरीका कार्यमा संलग्न भारतीय परिवारका बालबालिकाले संक्रामक रोगहरु विरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रुपमा रहेको शाखा प्रमुख भट्टले बताउनु भयो ।

“खोपले विभिन्न सरुवा रोगहरु लाग्नबाट बचाउछ” उहाँले भन्नुभयो, “बालबालिकालाई सरुवारोगहरुबाट जोगाउन १२ प्रकारका क्षयरोग, भ्यागुते रोग,लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ् ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनीया, मेनिन्जाईटीस, जापानिज इन्सेफलाइटिस् र रोटा भाईरस विरुद्धको खोप लगाईने गरिन्छ ।”
नगरपालिकाले आयोजना गरेको पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा कार्यक्रममा मन्तव्य राख्नु हुदै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले संविधानमानै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखिएकाले खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनु भयो । “खोप बारे गरिने दुष्प्रचारलाई चिर्दै समाजमा सकारात्मक सन्देश दिनु पर्छ” उहाँले भन्नुभयो,“खोपले मातृशिशुको मृत्यु दरमा कमी ल्याउछ, खोपले मानवको आयु बढाउने कार्य गरेको छ ।” उहाँले अगाडी भन्नुभयो, “पहिलेका आमाहरुले पाँच देखि १० वटा सम्म सन्तान जन्माउने गरेका थिए, जस मध्ये एक दुई मात्रै बाच्ने गर्दथे, त्यस बेला खोप लगाईदैनथ्यो, हाल बालबालिबालाई खोप लगाउन थालेपछि आमाले जन्माउने एक देखि तीन सम्मका सबै सन्तान दिर्घजीवि भएर बाच्ने गरेका छन, खोपलेनै मृत्यु दरमा कमी ल्याएको हो ।”

नगर प्रमुख रण बहादुर महराले संभावित महामारी रोक्नका लागि खोप कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाई खोप लगाउनबाट छुटेका बालबालिकाको खोजी गरी पूर्णखोपको मात्रा दिनु पर्ने उहाँले उल्लेख गर्नु भयो । नगर उप प्रमुख कल्पना पन्तले खोप कार्यक्रम नगरपालिकाको आफनो कार्यक्रम भएकाले यसको सेवालाई सुदृढीकरण गर्न साझेदार निकायको सहभागीतामा बृद्धि गर्नु पर्ने बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख बोहराले पूर्णखोप सुनश्चितता तथा दीगोपनाको प्रमाण पत्र नगर प्रमुख महरालाई कार्यक्रममा हस्तान्तरण गर्नु भयो । खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने स्वास्थ्य चौकी प्रमुखहरुलाई सोही अबसरमा प्रसंसा पत्र प्रदान गरिएको
थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img