केशब थापा/ कञ्चनपुर – लगानी प्रवर्द्धनमा प्रदेश तथा स्थानीय सरकार एवं सरोकारवालाहरूको भूमिका विषयक एक दिने कार्यशाला गोष्ठी कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो । आइतबार इयू नेपाल व्यापार तथा लगानी (EU Nepal trade and investment program) को आयोजनामा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । विषेश गरि नेपालमा विदेशी लगानीको अवस्था कमजोर भएको हुदा यसको सुधारका लागी कसरी पहल गर्न सकिन्छ भन्ने बारे राय सुझाव संकलन तथा सम्भावना र चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको इयू नेपाल व्यापार तथा लगानी कार्यक्रमका संयोजक शिवराज भट्टले बताउनु भयो ।

साथै उहाँले नेपालमा लगानीको अवस्था कमजोर भएको र नेपाल भित्रै पनि सुदूरपश्चिम अझै पछाडि रहेको हुँदा यसका समस्याहरू बारे छलफल गरेर सरकारले पनि कसरी आफ्नो भूमिका निर्वाह गर्ने भन्ने विषयमा कार्यक्रम आयोजना भएको समेत उहाँले बताउनुभयो । यसै गरि कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नेपालमा विदेशी लगानीको अवस्था हेर्दा निराशाजनक रहेको बताउँदै यसबारे चिन्तन मनन गर्नु पर्ने वेला आएको बताउनुभयो । साथै उहाँले वैदेशिक लगानीले मात्रै मुलुकमा सम्वृद्धी हुन्छ भन्नु गलत भएपनि विश्वका ठूला ठूला मुलुकहरूले वैदेशिक लगानी बाट देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार गरेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले देशमा भएका ठूला ठूला उद्योगहरू धराशायी भइसकेको बताउँदै बाहिरबाट कच्चापदार्थ ल्याएर बजारमा प्रतिष्पर्धा गर्न नसकिने बताउनुभयो । साथै उहाँले राज्यको प्रष्ट नीति नआएको र सम्भावना भएका क्षेत्रको समेत पहिचान गर्न राज्यले उदासिनता देखाएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले राज्यको कमजोरीका कारण देशमा उद्योग स्थापना हुन नसकेको भन्दै सरकारले स्वदेशी तथा विदेशी लगानी कर्तालाई सुरक्षा तथा सहुलियत दिनुको सट्टा उनीहरूको मनोबल घटाउने काम गर्दै आएको गुनासो गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि उद्योगी व्यवसायी शिक्षक कर्मचारी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।







