आज सम्झिन्छु त्यो
तिमी र म भेट्टिएका थियौ रहरले
र छुट्टिएका थियौ बाध्यताले
समयले न्याय वा अन्याय
के गर्यो तिमीसङ्ग थाहा छैन मलाई
बस यति बुझ्छु म कि
देशाका लागि जीवन अर्पण गर्ने महान योद्धा हौ
मेरो मनमा तिमी प्रतिको सम्मान रतिभर घटेन
लडेका थियौ साझा सपना बोकेर
अन्तिम श्वास लिदा पनि डगमगाएनौ मृत्युसङ्ग
तिमी जहाँ भए पनि
आफ्नो कर्ममा गर्व गर्नु कि देशका निम्ति मरेकोमा
डियर कमरेड
कतिलाई बोल्न सिकाएका थियौ
कतिलाई लड्न सिकाएका थियौ
अन्याय र अत्याचारका बिरुद्ध
आगो ओकल्ने बनाएका थियौ
र पो आज नेता भएका छन
मलाई सिकसिको यत्ती छ कि
तिम्रा बा आमाका सपना पूरा भएनन्
भाइ बहिनीका सपना पूरा हुन सकेनन्
फेरि कहिले काहीँ लाग्छ पनि
तिमीले सहि समयमा सहादत प्राप्त गर्यौ
कमसे कम आफ्नै अगाडि सपनामा
आगो झोसेको हेर्नू परेन ती आँखाहरुले
तिमीलाई निकै पश्चाताप
महसुस हुन्थ्यो जरुर आज
यदि तिमी पनि बाँचेका हुन्थ्यौ भने
भक्कानिएर आउँथ्यो मुटु
छचल्किन्थे रसाएर यी आँखाहरु
अनेकौ थरिका मनुवाहरु देखेर
आफू चोकको शालीन शालिक
बनेर उभिरहदा लाग्थ्यो होला
गल्ती गरिएछ त्यतिबेलासपना देखेर कि
म मरे पनि मेरा सन्ततीहरु
बाँच्न पाउने छन खुसिले
मुहार फेरिनेछ यो मुलुकको
यस्तै यस्तै सपना देखिएका थिए।।
यो सडकको मध्यभागमा उभिएर
धुलो धुवाँले जीर्ण बनेकोयो मुर्तीवत शालिक
शालिकमा सिमित भएका छौ तिमी
बर्षको एक पल्ट आएर पुष्पमाला र अबिर चढाउदै
मुठ्ठी उचाल्दै कसम खाने फेसनको
केही परिवर्तन हुने छैन कसमहरुले
किनकी ती कसम भन्दा ब्यबहारहरु
सयौं कोष टाढा पुगिसकेका छन
मैले अहिले बुझ्दैछु
तिमीमा पनि मन्त्री हुने कुनै गुण थिएनन
यदि बाँचेको भए
कि त तिमी प्रतिक्रान्तिमा हुन्थ्यौ
कि कुनै ठेकेदार कहाँ गिट्टी कुटिरहेका हुन्थ्यौ
कि अरबमा भेडा चराउदै रुन्थ्यौ
परिवर्तनका गित गाउन लगाउने हरु
पिरतीका गितमा मस्त भेटिन्छन
गाउनेहरुले न त प्रेम पाए
न त परिवर्तन नै
निकै छट्पटाउदै गरेको भेट्टिन्थ्यौ होला
तिमी पनि यदि बाँचेको भए।।
धर्मानन्द भट्ट
महेन्द्रनगर, कञ्चनपुर
महेन्द्रनगर, कञ्चनपुर