झलारी : शुक्लाफाँटा नगरपालिका ११ अमरपुर स्थित सरस्वती माध्यमिक विद्यालयको ३९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बुढाको सभापत्विमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो । बिशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो ।

वार्षिकोत्सव समारोहमा सुभकामना मन्तव्य राख्नु हुदै नगर प्रमुख महराले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले पुरानै शिक्षा पद्धिती अनुसार विद्यालय सञ्चालन हुदै आएको चर्चा गर्नु हुदै समय अनुसार शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनु भयो ।विद्यालय भौतिक पूर्वाधार आत्मनिर्भर रहेको कुरामा जोड दिदै उहाँले विद्यालयको फिल्ड व्यवस्थापन गर्ने कार्य संगै स्थानिय साधन श्रोत परिचालन गरी वाउड्रिवाल र नाली निर्माण गर्नका लागि कार्य अगाडी बढाउने बताउनु भयो ।


कार्यक्रमका बिशिष्ट अतिथि नगर उप प्रमुख कल्पना पन्तले विद्यालय शिक्षामै लागु औषध विरुद्धको पाठयसामग्री समावेश हुनु पर्ने बताउनु भयो । किसोर अबस्थाका बालबालिका कुलतको लतमा फस्न थालेको प्रति चिन्ता व्यक्त गर्नु हुदै उहाँले रोकथामका लागि अभिभावक र शिक्षकले बिशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भयो । विद्यालयको चौतर्फि विकासका लागि सक्दो पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तराज जोशीले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुलाई असल संस्कार सिकाई सदमार्गमा डोरयाउने शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

समाजसेवी टेक बहादुर भण्डारीले विद्यालयमा भौतिक पूर्वाधारको विकासका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने बताउनु भयो । प्रद्यानाअध्यापक राजेन्द्र बहादुर ऐरले सभामा विद्यालयको शैक्षिक तथा आर्थिक बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सभाका अवसरमा उत्कृष्ट शिक्षक धर्मराज जोशी, इश्वर दत्त जोशी,लक्ष्मण बहादुर बिष्ट, लक्ष्मी ऐर र कर्मचारी निर्मला अबस्थी –पन्त) लाई कार्यक्रमका प्रमुख र विशिष्ट अतिथिले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

यसैगरी, विद्यालयका पूर्व प्रद्यानाअध्यापक दल बहादुर ऐर,बलराम जोशी, पूर्व शिक्षक राजेन्द्रप्रसाद भट्ट, हरेन्द्र बहादुर भाट, मञ्जु जोशी र केशवी कुमारी महरालाई पनि सभाका अवसरमा सम्मान गरिएको थियो । सभाकै अवसरमा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सभामा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
सभामा स्वागत मन्तव्य विद्यालयका शिक्षक दल बहादुर ऐरले गर्नु भएको थियो भने सञ्चालन शिक्षक द्वय धर्मराज जोशी र इश्वर दत्त जोशीले गर्नु भएको थियो ।











