कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ मा रहेको सूर्य किरण बहुउद्देश्यीय पशु फार्ममा अफ्रिकन स्वाईन फिवरको संक्रमण फैलिए पछि ४ सय ५० वटा बंगुर मरेका छन् । देव बहादुर खड्काले सञ्चालन गरेको उक्त फार्ममा भदौ १ गते देखि अफ्रिकन स्वाईन फिवरको संक्रमण देखिएको र भदौ ५ गते सम्म ४ सय ५० वटा बंगुर मरिसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय पशु चिकित्सक नन्दराज भट्टले जानकारी दिनुभयो । अहिले फार्ममा करिब ८० देखि ९० वटा बंगुर मात्रै बाँकी रहेका छन् । अफ्रिकन स्वाईन फिवरका कारण बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, कमजोरी हुने तथा अचानक मृत्यु हुने जस्ता लक्षण देखिने गरेको चिकित्सक भट्टले बताउनुभयो । यस रोगको प्रभावकारी उपचार तथा खोप हाल सम्म उपलब्ध नभएको उहा्ँले बताउनुभएको छ् ।

करिब १ करोड रुपैयाँ बराबरको नेपाल एसबीआई बैंकबाट ऋण तथा ५० लाख रुपैयाँ व्यक्तिगत लगानी गरी झण्डै डेढ करोड रुपैयाँको लगानीमा फार्म सञ्चालन गरिएको थियो । ठूलो संख्यामा बंगुर मरेपछि फार्म सञ्चालकलाई आर्थिक क्षति पुगेको सूर्य किरण बहुउद्देश्यीय पशु फार्मका सञ्चालक देव बहादुर खड्काले बताउनुभएको छ् । फार्ममा मरेका बंगुरलाई सुरक्षित रुपमा खाल्डोमा पुर्न नगरपालिकाले जेसीबी उपलब्ध गराई सहयोग गरिरहेको सूर्य किरण बहुउद्देश्यीय पशु फार्मका सञ्चालक देव बहादुर खड्काले बताउनुभयो ।

प्रभावित फार्मलाई नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भईरहेको उहाँको भनाई छ् । अफ्रिकन स्वाईन फिवरको संक्रमण फैलिएपछि बंगुर पालक किसानहरु समस्यामा पर्दैै आएको दोधारा चाँदनी नगरपालिका कार्यालय पशु कार्यालयले जनाएको छ् ।











