कञ्चनपुर: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिकामा तयारी बैठक सम्पन्न भएको छ। आज नगरपालिकाका उपप्रमुख कल्पना कुमारी पन्तको अध्यक्षतामा बसेको बैठकले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, हिंसापीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरेको छ।

बैठकमा उपप्रमुख पन्तले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न परिवार, समाज, स्थानीय सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले हिंसापीडितलाई न्याय दिलाउन, उनीहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न तथा समाजमा विद्यमान विभेद र दण्डहीनताको अन्त्यका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

यस वर्षको अभियानको नारा ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न एकजुट होऔँ, न्याय सुनिश्चित गरौँ, हिंसापीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ रहेको छ।

बैठकमा अभियानअन्तर्गत समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने, महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई न्यूनीकरण गर्ने र हिंसापीडितलाई आवश्यक सहयोग तथा न्यायका लागि सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।बैठकमा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि तथा महिला अधिकार र सामाजिक क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागिता रहेको थियो।










