राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर: फरक क्षमता(अपाङ्गता) भएका कञ्चनपुरका चार स्थानिय तहका १२ जनालाई व्यवसायीक कार्य गरी आयआर्जन गर्नका लागि सहयोग गरिएकोछ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिका फरक क्षमता भएका व्यक्तिहरुलाई व्यवसायीक कार्य गर्नका लागि जनही रु १९ हजारका दरले पश्चिम भू परिधिकार्यक्रम (ताल)को सहयोग रकम उपलव्ध गराएको छ ।

समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिहरुलाई खुद्रपासल, मसाला पसल, किराना पसल, सिलाईकटाई पसल सञ्चालन र बाख्रपालनका लागि सहयोग रकम उपलव्ध गराईएको छ । “अपाङ्गता परिचय पत्र भएका व्यवसायीक कार्य गर्न इच्छुक भएका व्यक्तिहरुको छनौट गरी अनुदान रकम उपलव्ध गराएका छौं” उहाँले भन्नु भयो, “थोरै भएपनि व्यवसायको शुरुवात गर्नका लागि रकम उपलव्ध गराईएको छ , व्यवसाय सञ्चालन पछि आवश्यक तालिमको व्यवस्था संगै बजार प्रवद्र्धनको कार्यमा सहयोग गर्छौ ।” खुद्रापसल सञ्चालनका लागि एक जना, सिलाई कटाईका लागि एक जना, किराना पसल सञ्चालनका लागि एक जना, मसाला पसल सञ्चालनका लागि एक जना र बाख्रपालनका लागि आठ जनालाई सहयोग गरिएको उहाँको भनाई रहेको छ ।

सहयोग गरिएकामा शुक्लाफाँटाका तीन, पुर्नवासका एक, लालझाडीका एक र कृष्णपुरका सात जना रहेका छन । कृष्णपुर नगरपालिका ४ गुलरियाका धर्म सिंह टमटाले आर्थिक अबस्थामा सुधार गर्नका लागि समन्वय समितिबाट उपलव्ध गराईएको सहयोगले बाख्रा खरिद गरी पालन गर्ने कार्यमा सहयोग पुग्ने बताउनु भयो । “परिवारको आर्थिक अबस्था कमजोर छ” उहाँले भन्नु भयो, “त्यही माथि अपाङ्गता भएकै व्यवसायीक कार्य अप्ठेरो भएको अबस्थामा परिवार पाल्ने पिर थपिदै गएको थियो, सहयोग रकम उपलव्ध भएकाले बाख्रापालन गरी जीवनस्तर माथि उकास्न मद्दत पुग्ने भएको छ ।











