कञ्चनपुर : जिल्लाभरी कार्यक्षेत्र रहेको श्री निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेल बहादुर राना को प्रमुख आतिथ्य तथा वडा नं. १५ का अध्यक्ष भुवन राज भट्टको विशिष्ट आतिथ्यमा समीक्षा गोष्ठी आयोजना गरिएको छ । संस्थाका सञ्चालक समिति, उप समितिका पदाधिकारी एवं कर्मचारी सम्मिलित समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९/०८० को लक्ष्य र प्रगतिका विषयमा, आ.व.२०८०/०८१ का लागि नयाँ लक्ष्य सहित विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने गरी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संचालक भावना के.सी.ले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य समाजिक विकास समिति सदस्य मञ्जु दाहालले गर्नु भएको कार्यक्रममा लक्ष्य सहितको प्रगति विवरण संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीमा सहकारीमा आवद्ध हरेक सदस्यको स्वास्थ्य निरोगिताको लागि चेतना जागृत गर्दै संस्थाका सञ्चालक, समितिका पदाधिकारी एवं कर्मचारीहरूले शारीरिक स्वास्थ्य बल, मानसिक बल, भावनात्मक बल, चैतन्य बल तथा आत्मबल केन्द्रित गरेर सहकारीको उद्देश्य र लक्ष्य हासिल गर्नु पर्नेमा गोष्ठी केन्द्रित रहेको थियो । समारोहका विशिष्ट अतिथि भुवनराज भट्टले संस्थाको प्रगति सन्तोषजनक रहेको र वडा स्तरबाट हुने सहयोगका लागि प्रतिवद्धता जाहेर गर्नु भएको थियो। यसै गरि प्रदेश सभा सदस्य बेल बहादुर नाराले कञ्चनपुर जिल्ला कार्य क्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले छोटो समयमा उल्लेख्य प्रगति गरेको र बचत ऋणका साथ साथै कृषि र कृषकका लागि राम्रो कार्य गरेकोले सुदूरपश्चिममा मलको अभाव हुन नदिन तथा सहकारीका प्रवर्द्धनात्मक कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

एघार हजार भन्दा बढि सदस्य रहेको श्री निङ्गलाशैनी बहुउद्देश्य सहकारी संस्थाले, बचत तथा ऋणका सेवा साथ साथै, रेमिटान्स, आईएमई, कस्टम हायरिङ्ग सेन्टर, बिज वृद्धि केन्द्र , मलखाद बिक्री वितरण केन्द्र सञ्चालनमा ल्याईरहेको छ भने आगामी दिनमा हाट बजार, दुग्ध संकलन तथा बिक्री केन्द्र तथा स्कुल अफ को–अपरेटिभ सञ्चालनमा ल्याइने यो कार्य वडा, नगर, प्रदेश सरकारको सहयोग आवश्यक रहेको कुरा कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको छ ।







