कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० स्थीत श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढने कार्यसंगै कमाउने कार्यमा संलग्न हुदै आएका छन । विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढने विद्यार्थीहरु कक्षा कोठामा बसेर पढाइ मात्रै गर्दैनन् । विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन । जैविक मल र जैविक बिषादीको प्रयोग गरी विद्यार्थीहरुले तरकारी खेती गर्दै आएका छन । विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै विक्री हुने गरेको छ । जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग बढ्दो रुपमा रहेको छ । विद्यालयमा पढने कार्य संगै प्रयोगात्मक कक्षामा सहभागीभै तरकारी खेती गर्दै आएको विद्यालयका आइएस्सी एजीका विद्यार्थी रोहित बोहराले बताउनु भयो । “विद्यालयमा पढने कार्य संगै थिए पकेट खर्च पनि पाउन थालेपछि पढाई गर्न उत्साहीत भएका छौं” उहाँले भन्नु भयो ।

विद्यार्थीका लागि विद्यालयले २० प्रतिशत सैद्धान्तिक ज्ञान(पाठयपुस्तक) र ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी गराउने गरेको छ । विद्यालयको जग्गामा विद्यार्थीले अहिले काँक्रा, गोलभेडा, फर्सि, खुर्सानी, तितेकरेला, लौका, सिमला मिर्च लागायत रोपेका छन । विद्यालयको कृषि तर्फको प्राविधिक धारमा सय विद्यार्थी अध्ययतरत रहेका छन । पालै पालो तरकारीमा सिचाई गर्ने, मल राख्ने, रोग किरा निदान गर्ने, गोडमेल गर्ने कार्य विद्यार्थीले गर्दै आएका छन ।
तरकारी खेती संगै मौसम अनुसार धान, गहु, मसुरो लगायतको दलहन र तेलहन बाली लगाईने गरेको विद्यालयका विद्यार्थी अनिल डगौराले बताउनु भयो । “खेतवारीमा खनजोत गोडमेल देखि बीउ राख्ने र तरकारी उत्पादन गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुने गरेका छौं” उहाँले भन्नु भयो, “व्यवसायीक खेती गर्ने तौर तरिका संगै रोगकिरा रोकथामका लागि सहज रुपमा जानकारी पाईने गरेको छ, सिक्ने अबसर प्राप्त हुने गरेको छ ।”

खेती गर्नका लागि प्रयोग हुने कृषि यन्त्रण, औजार, उपकरण बारे विद्यार्थीलाई खेतवारीमै लगेर प्रत्यक्ष रुपमा संलग्न गराई जानकारी दिने कार्य हुदै आएको विद्यालयका कृषि बिषय अध्यापन गराउदै आउनु भएका शिक्षक समिर धानूकले बताउनु भयो । “विद्यालयाट पढेर गएका विद्यार्थी कृषि क्षेत्रमा सक्षम बनाउनका लागि प्रयत्न गर्दै आएका छौं” उहाँले भन्नु भयो, “हाल सम्म विद्यालयबाट कृषि पढेर गएका विद्यार्थीले बेरोजगार भएर बस्नु परेको छैन, हाल सम्म तीन दर्जन बढी विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन, केहीले आफनै एग्रोभेट पसल खोलेर स्वरोजगार भएका छन ।”
विद्यार्थीले विद्यालयको जग्गामा प्रति वर्ष रु पाँच लाख बढीको तरकारी उत्पादन गर्दै आएका छन । उत्पादन भएको तरकारी विक्री गरी आएको ७५ प्रतिशत रकम विद्यार्थीलाई र २५ प्रतिशत रकम विद्यालयको कोषमा जम्मा गरिदै आएको छ । विद्यार्थीले पाएको रकम शैक्षिक कार्यका लागि खर्च गर्ने गरेका छन ।

विद्यालय कोषमा जम्मा हुने रकम विद्यार्थीका लागि कृषि औजार, उपकरण, यन्त्रण, बीउविजन लगायतमा खर्च हुने गरेको छ । विद्यालयमा कृषि विषय पढदै आएका विद्यार्थीलाई खेती प्रणाली संगै माछापालन, च्याउ उत्पादन गर्ने तौर तरिका बारे प्रत्यक्ष रुपमा फिल्डमा खटाई प्राविधिक शिक्षा दिईने व्यवस्था मिलाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिंहले बताउनु भयो । माछापालनका लागि विद्यालयमा दुई वटा पोखरी निर्माण गरिएका छन । “विद्यालयकै भवनमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्नका लागि व्यवस्था मिलाएका छौं” उहाँले भन्नु भयो, विद्यार्थीका लागि वालि विज्ञान सम्बन्धी विद्यालयमै अत्याधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएका छौं ।” तरकारी खेती संगै माछा र च्याउ बिक्री गरेको रकम विद्यार्थीले पाउने गरेका छन । विसं २०७४ साल देखि विद्यालयमा कृषि जेटिए र आईएस्सी एजीको पठनपाठनको कार्य हुदै आएको छ ।






