दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडवाल टोलमा गणेश आधारभुत बिद्यालय छ् । बिद्यालयको उत्तर दिशा स्थित रहेको सशस्त्र प्रहरीको बिओपी नजिक त्रिपालले छाएको ७/८ वटा झुप्राहरु देखिन्छन् । जुन बस्ती बादी बस्तीको नामले पनि चिनिन्छ् । जहाँ ५० भन्दा बढी बादी परिवार बस्छन् । यही बस्तीमा बिरभाने बादी बस्दै आएका छन् । उनको उही त्रिपालले छाएको झुपडीको बास छ् । उस्तै छ जीवनस्तर । फेरिएको छ त केवल पेसा । ‘ऊ बेला गाँउ–गाँउ पुगेर नाच्थ्यौं, गाउथ्यौं, रमाउथ्यौ । त्यहीबाट खाद्यान्न जोहो गरेर छाक टाथ्र्यौ’ विगतलाई बिरभाने बादीले सम्झिए । त्यतिबेला ‘कहिलेको बादल कहिले छाया रामछाया दुई दिनको जिन्दगानी…’ भन्ने जस्ता गीतहरु गाउने गरेको सम्झना उनलाई ताजै छ् । गाँउ बसतीमा जाने, नाच्ने, गाउने र मागेर खाने चलन भने हिजो आज हराएको उनी बताउछन् । उनले भनेझैं अहिले बादी समुदायको पेसा बदलिएको छ् । ‘पहिला नाचगान गर्यौं, सुल्पा बनायौं । सारंगी र मादल भिरेर जान्थ्यांै, नाच्थ्यौं, हाम्रो त्यो पेसा अचेल हरायो’, उनले भने । गाँउमा जान छुट्यो । नाचगान गर्न पनि छुट्यो ।

अब घर घरमा टिभी र हात हातमा मोवाईल राख्न सुरु भयो । बादीको गायन पेसा हरायो । उति बेला गाँउ , बस्तीमा फलानो बादी आऊ है नाचगान गर भन्थे । तर, अहिले त मजदुरी नगरी बादी बस्तीमा चुल्हो बल्दैन् । बिरभाने बादीले भनेझैं उनीहरुको पुरानो पेसा त बदलियो । तर, जीवन स्तर बदलिएको छैन् । मुलुकको व्यवस्था बदलिए पनि बादी समुदायको अवस्था बदलिएको छैन् । बादी समुदायको तत्कालीन पेसा हराएको छ् । पछिल्लो केही वर्षयता यो समुदायका अधिकांश घरपरिवार ज्याला मजदुरीमा निर्भर छन् । कयौं युवा युवती बिदेसिएका छन् । बिरभाने बादी जस्तै सिता बादी पनि जीवन धान्ने मेसो बदलिए पनि आफूहरुको अवस्था पुरानै रहेको बताउछन् । सानोमा बा र त्यसपछि श्रीमान संग गाँउ, बस्तीमा गाउदै, नाच्दै हिडेको, कमाइ गरेको र त्यसैले घर चलाएको उनलाई अहिले सम्झना मात्र छ् । ‘पहिले नाच्थ्यांै, गाउथ्यौं, गाँउ, बस्तीमा पुग्थ्यौं । मिठो खान र राम्रो लगाउन पाइन्थ्यो ।

अब नाँच्ने, गाउने सबै बन्द भयो । अहिले त मजदुरी नगरे भोक भोकै बस्नुपर्ने अवस्था छ’, उनले भनिन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र वडा नं. ६ मा झण्डै एक सय भन्दा बाढी यो समुदाय अहिले भिन्न भिन्न पेसा व्यवसाय गरेर जीवन निर्वाह गरिरहेका छन् । पुर्खाको पेसा लोप हुने अवस्थामा छ् । खेतीपाती गर्ने जग्गा जमिन छैन् । अधिकांश बादी परिवार स्थानिय क्षेत्रमा ज्याला मजुरी गर्ने भारतमा गएर बिभिन्न काम गरेर जीवन निर्वाह गरिरहेका छन् । कुनै पनि उपाय नहुनेहरु परम्परागत पेसा अर्थात् मादल बनाउने, सुल्पा बनाउने काम गरेर जीवन धान्न बाध्य छन् । बादी समुदाय बाद्यवाधन तथा मनोरञ्जन सम्बन्धी सीप कला र पेसाले निपूर्ण जाति हो । समय क्रम संगै उनीहरुको व्यावसायिक इतिहास मेटिएको छ् । परम्परागत पेसा लोप हुदै गएको छ् ।

फलस्वपरुप बादी समुदायका नागरिक जीविको पार्जनका लागि अन्य पेसा व्यवसाय अंगाल्न थालेका छन् । सीमित व्यक्तिहरु परम्परागत पेसाहरु मादल तथा वाद्यवादनका सामग्रीहरु, जाल, सुल्पा, चिलिम, बनाउने कार्यमा संलग्न छन् । पर्याप्त बजारको अभाव र आधुनिक वाद्यवादनका सामग्री तथा प्रविधिको विकासका कारण बादी समुदाय आफ्नो परम्परागत पेसाबाट विस्थापित जस्तै भएका छन् । खेतीपाती गर्नका लागि पर्याप्त जग्गा नहुदा समस्या परेको उनको भनाई छ् । जीविको पार्जनका लागि सरकारबाट कुनै सहयोग नपाएको उनिहरुको गुनासो छ् । रेशम बादीले भने, ‘जीवन निर्वाहका लागि ठूलो संख्यामा भारत जान्छन् ।
उच्च गरिबीकै कारण विद्यालय उमेर समूहका बालबालिका पनि भारत जानुपर्ने बाध्यतामा छन् । नेपाल सरकारले २०६५ जेठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो । उक्त घोषणाको १६ वर्ष बितिसक्दा समेत यो समुदाय सामाजिक र सांस्कृतिक विभेदबाट मुक्त हुन सकेको देखिन्न् ।






