प्रविधिमैत्री शिक्षा जरुरी छ : नगर प्रमुख महरा


शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ बनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयले २६ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । मंगलवार विद्यालयको प्राङ्गणमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर अनिरुद्र माविले आफ्नो २६ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले अनिरुद्र मावि नगरकै गौरबको रुपमा रहेको भन्दै थप प्रगतिको कामना गर्दै जिल्लामै उत्कृष्ट विद्यालयका रुपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गरे । शैक्षिक संगै अतिरिक्त क्रियाकलापमा विद्यालय अब्बल रहेकोले आगामी दिनहरुमा थप परिस्कृत भएर अगाडी बढ्न आवश्यक रहेको उनले बताए । विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालय अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु, नगर प्रमुख महराले भने ।

सिकाई जिवनपर्यन्त चलिरहने बताउँदै नगर प्रमुख महराले भने, सिकाईको कुनै निश्चित अवधि हुँदैन, शिक्षा समुद्र हो । कार्यक्रममा बोल्दै नगर प्रमुख महराले प्रविधिमैत्री शिक्षा दिन जरुरी रहेको बताए । हामी प्रतिस्पर्धाको समयमा छौँ, नगर प्रमुख महराले भने, विद्यालयले गुणस्तरिय शिक्षा दिदै प्रविधिमैत्री हुन जरुरी छ, नयाँ नयाँ प्रविधिहरु अंगाल्दै अघि बढ्नुपर्छ । शिक्षा क्षेत्रमा गुणस्तर उकास्न नगरपालिकाले शिक्षालाइ प्राथमिकता दिएको उनको भनाई थियो । उनले शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्ने गरी आफुहरु लागि परेको समेत बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल डिडि अवस्थीले विगतदेखी नै विद्यालयले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन संगै प्रतिभाको सम्मान गर्दै आइरहेको बताए । उनले विद्यार्थीको भविष्य उज्वल बनाउन शिक्षक, विद्यार्थी, अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।

विद्यार्थीहरु काँचो माटो भएको उल्लेख गर्दै प्रिन्सिपल अवस्थीले भने,विद्यार्थीहरुको पढाई प्रभावकारी बनाउन अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । प्रिन्सिपल अवस्थीका अनुसार हाल विद्यालयमा नर्सरी देखी कक्षा १२ सम्म ७ सय ८८ जना विद्यार्थीहरु अध्ययनरत छन् । उनले विद्यालयको भौतिक अवस्थाबारे जानकारी गराउँदै भने, १४ कट्टा जमिनमा ३ भवन छन् र ४० वटा कोठाहरु छन्, जसमा कम्प्युटर ल्याव, पुस्तकालय, विज्ञान प्रयोगशाला,कार्यालय,हल लगायत छन् । उनले पठाइलाई थप प्रभावकारी बनाउन लगत्तै विद्यालयमा करिब २५ वटा कोठा थप्ने तयारी भइरहेको बताए । वर्षभरी विद्यालयमा गरएका क्रियाकलापहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो भने, विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पि.पी भट्ट र शिक्षिका मञ्जु भाँटले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमा अवस्थीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष चक्र बहादुर खड्का, निवर्तमान वडाध्यक्ष कमलराज गिरी, वडा नम्बर १ का वडाध्यक्ष उत्तरदेव भट्ट, वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष जगत बहादुर सिंह, संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img