दोधारा । नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस, सामुदायिक बिपद् ब्यवस्थापन समिति अन्तर्गत खोज उद्धार टोली सामग्री सहित आज बिहान जगबुडा नदीमा पुग्छन् । जगबुडा नदीको सतह बढेको अवस्थामा त्यस्तो दृश्य देख्दा अधिकांशलाई असमान्य लाग्यो । लाईफ ज्याकेट, स्टेचर, ट्युव लिएका सुरक्षाकर्मी हतारोमा देखिन्छन् । यसै बीच नदीको बीचबीचबाट बगेका मानिसले बचाउ बचाउ भन्दै गरेको आवाज गुन्जिन्छ् । उद्वार समग्री लिएर बसेका सामुदायिक बिपद् ब्यवस्थापन समितिका अन्तर्गत खोज उद्धार टोली, सुरक्षाकर्मी जगबुडा नदी भित्र हामफाल्छन् । एक एक गरेर ट्युवको सहयोगमा मानिसलाई खोज उद्धार टोली र सुरक्षाकर्मीले नदी किनारामा लगाउछन् ।


उद्वार भएका मानिस प्राथामिक उपचार गरेर गाडीमा पठाएको दृश्य रोमान्चक देखिन्छ । दृश्यमा जगबुडा नदीमा ठूलो बाढी आएको भन्ने संकेत गरिरहेको भान हुन्छ् । तर, वास्तविकता नभएर बाढी आएको अभिनय गरेको दृश्य हेर्न लायक हुन्छ । बाढी आउदाको चित्रण गरेको प्रस्तुतिको दृश्यले दंग भएको निड्स नेपाल कञ्चनपुरका शुनिल सेठ्ठीले बताए । यो द्धश्य आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्ला नजिक जगबुडा नदीमा मर्सीक्रोपको सहयोग र निड्स नेपालको आयोजनामा संचालित बाढीमा आधारित कृतिम नमुना अभ्यास कार्यक्रमको रहेको थियो । बाढीमा फसेकालाई सहज तरिकाले उद्वार गर्न सकिन्छ भनेर सुरक्षाकर्मी र रेडक्रस, खोज उद्धार टोली तथा स्वयमसेवकले अभ्यास गरेको निड्स नेपाल कञ्चनपुरका शुनिल सेठ्ठीले जानकारी दिएका छन् । बाढी पूर्व तयारीका लागि कृतिम अभ्यास जरुरी भएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, खोज उद्धार टोली र स्थानीय सहभागिता अभ्यास गरिएको वडाध्यक्ष रावलले बताए ।


प्राकृतिक विपदबाट बच्नका लागी पूर्व तयारीमा रहन र सर्तक रहन सर्वसाधारणलाई उनले आग्रह गरे । उद्वारकर्ताले अभियन गर्दा नदी तटिय क्षेत्रका मानिसहरुमा अनुहार तनाव झल्किन्थ्यो । उद्वार अभ्यास गर्दा हुने घटनाको चित्रण गर्दा स्थानीय त्रसित भएको थिए । ‘अभियन गर्न थालेको थाहा पाएका स्थानीय हास्दै घर फर्के,’ एक स्थानिय रामसिंह खड्काले बताए । बाढी आउदा समेत घरेलु समानबाट ज्यान जोगाउन सकिने उल्लेख गर्दे अभ्यास गर्दा स्थानीय धेरै कुरा बुझ्ने मौका पाएको दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनी नगरपालिकामा गएको कार्तिक २ गते आएको बाढीको कारण धेरै धनमालको क्षती भएको हुदा यस वर्ष बिभिन्न संघ–संस्थाहरुको सहयोगबाट उद्धार सामग्री खरिद तथा सामुदायिक बिपद् ब्यवस्थापन समिति गठन तथा खोज उद्धार टोलीलाई तालिम दिने कार्य भएको दोधारा चाँदनीका मेयर लिम्बुले बताएका छन् ।


‘ग्यालिन जोडेर तैरन र केराको बोगाबाट डुंगा बनाउन डोरीबाट मान्छे कसरी तान्न सकिन्छ भन्ने सामान्य कुरा सर्बसाधारण जानकार हुनाले यस्ता अभ्यास सबैलाई फाईदा हुन्छ,’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले भने । अभ्यासले मानिसलाई दक्ष बनाउने उनले बताए । बाढीको बखत हुन सक्ने मानवीय तथा भौतिक क्षति तथा खोज तथा उद्वार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका यस वर्ष बिभिन्न समयमा नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुरको सहयोग र सहकार्यबाट महाकाली र जगबुडा नदीमा कृतिम अभ्यास भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, खोज उद्धार टोली तथा रेडक्रसको सहभागितामा भएको बाढीको कृतिम घटना अभ्यासमा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । यतिबेला मनसुन सकृय रहेकाले महाकाली नदी र जगबुडा नदी बढ्ने, घट्ने क्रममा छ ।






