झलारी : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्यलाई आर्थिक सहयोग गरेको छ। सहकारीले संस्थाका सदस्य जानकी पनेरु भट्टका श्रीमान् राजेन्द्र भट्टलाई रु १५ हजार १२५ रुपैयाँ आर्थिक सहयोग गरेको हो। सहकारीका पदाधिकारीहरू सदस्य भट्टको घरमै पुगेर आज उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन्। संस्थाका कार्यालय प्रमुख (प्रबन्धक) गणेशदत्त भट्टका अनुसार स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्यलाई उपचारका लागि सहयोग गरिएको हो। सहकारीले आफ्ना सदस्यको सुख–दुःखमा साथ दिने उद्देश्यले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको उनले बताए।

स्थापना दिवसका अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्धक भट्टले सहकारीको वित्तीय प्रगतिको विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार विसं २०७७ सालमा १२ लाख रुपैयाँ सेयर पुँजीबाट सञ्चालनमा आएको संस्थाको हाल सेयर पुँजी १ करोड १२ लाख रुपैयाँ पुगेको छ। संस्थाले हालसम्म ७ करोड रुपैयाँ बचत संकलन गरेको छ भने ४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गरेको छ। सहकारीको हालसम्मको कुल कारोबार ९ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको प्रबन्धक भट्टले जानकारी दिए। स्थापना दिवस कार्यक्रममा नेपाल बैंक लिमिटेड झलारी शाखाका सहायक प्रबन्धक प्रकाश खड्काले सहकारी तथा वित्तीय संस्थाहरूले सदस्यको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

सहकारीले सदस्यको आर्थिक अवस्थालाई सुधार गर्दै बचत गर्ने बानीको विकास र आवश्यकताका समयमा सहज वित्तीय पहुँच उपलब्ध गराउनुपर्ने उनले बताए। यस्तै, संस्थाका अध्यक्ष केशवराज कपाडीले सहकारीलाई सदस्यकेन्द्रित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्राथमिकता दिने बताए। सदस्यको आर्थिक हितसँगै सामाजिक तथा मानवीय सेवामा समेत संस्थाले आफ्नो भूमिका विस्तार गर्दै जाने उनको भनाइ थियो। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको प्रगति विवरण प्रस्तुत संगै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।











