कञ्चनपुर: नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कञ्चनपुरका ९ वटै स्थानीय तहमा चुनावी गठबन्धन गर्ने सहमति गरेको भएता पनि एक स्थानीय तहमा छुट्टाछुट्टै मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार कृष्णपुर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा समाजवादी र माओवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । कृष्णपुरमा मेयर माओवादी र उपमेयर समाजवादीले पाउने गरी दुई दलिय गठबन्धन गर्ने सहमति दुबै दलका नेताहरुले गरेका थिए ।

तर, माओवादीको तर्फबाट मेयरमा जोगराज चौधरी र उपमेयरमा गिता देउवा (मल्ल)ले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी एकीकृत समाजवादीबाट मेयरमा सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपालीले उम्मेदवारी दिएकी छिन् ।

दुबै दलले सबै वडामा उम्मेदवार खडा गरेको छ । माओवादी केन्द्रबाट कृष्णपुरको वडा नं. १ को अध्यक्षमा इश्वर बुढा, वडा नं. २ मा अर्जुन साउद, वडा नं. ३ मा खेम चौधरी, वडा नं. ४ मा धर्मबहादुर सिंह, वडा नं. ५ मा आशुराम चौधरी, वडा नं. ६ मा बाबुराम चौधरी, वडा नं. ७ मा सुरेन्द्रबहादुर धामी, वडा नं. ८ मा अमरसिंह बडायक, वडा नं. ९ मा लालबहादुर चौधरीले उम्मेदवारी दिएका छन् ।
सबै वडामा माओवादीले वडा सदस्यमा पनि उम्मेदवारी दर्ता गराएको छ । यसैगरी एकीकृत समाजवादीबाट वडा नं. १ को अध्यक्षमा दिलबहादुर बोहरा, वडा नं. २ मा जितेन्द्र रावल, वडा नं. ३ मा मनोज विष्ट, वडा नं. ४ मा नवराज खड्का, वडा नं. ५ मा प्रदिप चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।






