राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाका अति विपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य शुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत छनौटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलव्ध गराईएको छ । नगरपालिकामा सञ्चालन भैरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवेदक २७५ मध्ये २५७ जना छनौटमा परेका छन । आवेदन दिएकोमा पहिलो चरणमा १११ को बैंक खातामा नगरपालिकाले सुरक्षित घर निर्माणका लागि पहिलो किस्ताको रकम पठाएको छ । छनौटमा परेका बाँकी रहेका अन्य आवेदकलाई समेत छिट्टै रकम निकासा पठाईने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पहिलो चरणमा वडा नं १ का १०, २ का १०,३ का १०, ४ का ९, ५ का ९, ६ का ३,७ का १०,८ का १०, ९ का ८, १० का १०, ११ का १० र १२ का १० परिवार छनौटमा परेका छन ।
छनौटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रुपमा रु ३० हजार रकम बैंक खाता मार्फत उपलव्ध गराईएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताए । ‘घरको छानामा पराल, खर, स्याउला, टायल लगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुन सक्ने परिवारको छनौट गरी रकम उपलव्ध गराएका छांै’ उनले भने,,‘छनौट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोले पछि अनुदान सम्झौता भई सकेका लाभग्राहीलाई जस्तापाता, काठ लगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराईएको छ ।’ सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार अनुदान उपलव्ध गराउदा नगरपालिका संग सम्झौता भएपछि पहिलो किस्ता वाफत साठी प्रतिशत रकम उपलव्ध गराईने व्यवस्था रहेको छ ।
‘लाभग्राहीले सो रकम जस्तापाता र काठ लगायतका सामग्री खरिद गरी निर्माण कार्य अघि बढाउनका लागि खर्च गर्नु पर्ने हुन्छ’ सूचना अधिकारी फुलाराले भने, ‘प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठ लगायतको सामग्री खरिद गरी निर्माण कार्य सम्पन्न भएको भनी नगरपालिकाको प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदन सहित गरेको सिफारिसको आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्ता वाफतको रु २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलव्ध गराईने छ ।’ प्राविधिकबाट अनुुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माण कार्य सम्पन्न भएको मानिने छ । ‘संविधानको मौलिक हक अन्र्तगतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘नगरपालिकामा बसोवास गर्ने सबै नागरिक संग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडी बढाएका छौं ।
कार्यक्रम अन्र्तगत अत्यन्तै जोखिममा रहेका आर्थिक अबस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनौट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराईएको छ ।’ सुरक्षित आवास निर्माण पछि आगो, हावाहुरी, बर्षा, हिंसक जनावर र सर्प लगायतका विषालु जिवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उनले बताए । ‘सहज सुरक्षित रुपमा घरमा बस्न सकुन भनेर विपन्न परिवारलाई कार्यक्रममा समेटेका छौं’ उनले भने । नगरपालिकाको वडा नं १ का सेरे सार्कीले काठको कच्चि घरमा आर्थिक अबस्था कमजोर हुदा टायल समेत राख्न नपाईएको अबस्थामा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि काठ र जस्तापाता खरिद गर्न रकम प्रदान गरेपछि निकै सहज भएको बताए । ‘दैनिक ज्याला मजदुरी गरी जीविका चलाउदै आएका छौं” उहाँले भन्नु भयो, “त्यसले साँझ विहानको खाना खर्च चलाउनमै ठिक्क हुन्छ । सुरक्षित घर निर्माणका लागि रकम जम्मा गर्न नसक्दा हावाहुरी आउदा खरले छाएको छाना उडाएर बिजोगनै बनाउदथ्यो । बर्षातको पानी चुहिएर निथु्रक्क भिजेर बस्नु पर्ने अबस्था थियो । नगरपालिकाले बैंकमा खात खोल्न लगाएर त्यसमा पैशा उपलव्ध गराए पछि घरको छानामा जस्तापाता राख्नका लागि निकै सहज भएको छ ।’ सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ६ बमोजिम कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी अनुदान रकम लिईएको पाईए वा जुन प्रयोजनका लागि अनुदान रकम उपलव्ध गराईएको हो सोही प्रयोजनका लागि खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाईएमा अनुदान रकम नगरपालिको असुल उपर गर्ने समेत जनाएको छ ।
