धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । २४ सदस्यीय संसदीय दलमा ओली पक्षका ६ जना छन् । उता काँग्रेस संसदीय दलकाे बैठक बसिरहेकाे छ ।

स्राेतका अनुसार काँग्रेसले पनि मुख्यमन्त्री भट्टकाे पक्षमा नै उभिने देखिएकाे छ । दलहरुकाे आन्तरिक छलफलले विहान ९ बजे बस्ने भनिएकाे प्रदेशसभा बैठक १ घण्टा पछि धकेलिएकाे बताइएकाे छ ।







