कञ्चनपुर : महामारीका बेला यस बर्षपनि कञ्चनपुरमा मल अभाव भएको छ । मल आपूर्तिकर्ता सरकारी निकायबाट माग अनुरुप मल आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो । कृषि समाग्री कम्पनी र साल्ट्र टे«डिङ्ग कम्पनीले सहकारी मार्फत मलखाद बिक्रि वितरण गर्दै आएका छन । सरकारबाट पाउने अनुदानको मल जहिले पनि अभाव हुँदा किसानले चाहे अनुरुप समयमै मल नपाएका कारण महाकारीका विच सरकारी निकायबाट वितरणका लागि सहकारीलाई दिएको मल ल्याउनका लागि समेत किसानले घण्टौँ लाईन पर्खिनु परेको छ ।

तर पनि मल नपाईने समस्याले किसान मारमा परेका छन । एकातिर लकडाउनले स्थानीय स्तरबाट अर्को स्थान बजार जान समस्या छ, अर्कातिर मल नपाउने समस्याले किसान दोहोरो मारमा परेका छन । कहिले पनि सरकारले मलखाद समयमै उपलब्ध गराउन नसेकेको भन्दै कञ्चनपुरका किसानले दुखेसो पोखेका छन । भीमदत्त नगरपालिकाका किसान दशरथ भण्डारीले सरकारले किसानको माग अनुरुप समयमै मलखाद आपूर्ति गर्न नसक्दा किसान मारमा पर्दै आएको बताए । ‘किसानले खेती गर्ने बेला जहिले पनि मलखाद पाउँदैनन, ‘उनले भने, ‘यो यस बर्षको समस्या होईन जहिले पनि हो ।’ बेलडाँडीका किसान पदम रानाले सहकारी मार्फत वितरण हुने मलखादमा घण्टौँ लाईन लागेर बस्दा समेत चाहे अनुरुप मलखाद नपाएको बताए । ‘हामी किसानलाई जे मल जाहिएको हो, त्यो पाएन, ‘उनले भने, ‘महामारीका बेला घण्टौँ लाईन लागेर पनि मल पाएन ।’ लालझाडीका किसान अजय चौधरीले सहकारी मार्फत वितरण हुने मलखादमा बदमासी भईरहेको बताए । बेलौरीका किसान सुरेन्द्र जोशीले मल पाउन सहज नभएको बताए ।

‘सरकारबाट आउने अनुदानको मल सहकारीहरुले आफन्तहरुलाई दिन्छन, ‘उनले भने, ‘मलको हाहाकार हुँदा हामी जस्ता किसानले भारतबाट चोरी तस्करीको मल चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।’ सरकारले सहज रुपमा मलखाद समेत आपूर्ति गर्न नसक्दा किसान जहिले पनि मारमा पर्दै आएको दुखेसो पोखे । ‘जिल्लाबाट सहकारीमा मलखाद आएको सुनिन्छ, ‘उनले भने, ‘हामीले खरिद गर्न जाँदा सकियो भन्छन, फर्किएर आउनुपर्ने बाध्यता छ ।’ सरकारबाट पाईने मलखाद अभाव हुँदा चोरी तस्करीको समेत मलखाद भित्रिने समस्या छ ।

कृषि समाग्री कम्पनी कञ्चनपुरका प्रमुख बल बहादुर शाहले चालु बर्षमा केन्द्रबबाट आएका ५सय मेट्रिकटन यूरिया र ८ सय मेट्रिकटन डिएपी मध्ये ७५ प्रतिशत सहकारी मार्फत वितरण भईसकेको बताए । ‘अनुदानको मलखाद माग अनुसार आउँदैन, ‘उनले भने, ‘त्यही भएर किसानले सहज पाउँदैनन ।’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले अनुदानको मलखाद वितरण निर्देशिनका अनुरुप हाल स्थानीय तहलाई जिम्मेबारी दिएको बताए । यस अघि जिल्ला प्रशासनलाई भएपनि हाल पालिकालाई जिम्मेबारी रहेको बताए । उनले पनि किसानको माग अनुसार कहिले पनि मलखाद आपूर्ति नहुँदा समस्या हुने गरेको छ । माग अनुरुप सरकारले अनुदानमा दिने मल आपूर्ति गर्नुपर्ने बताए ।






