दोधारा

दोधारा चाँदनी नगरपालिकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा तथा कोभिड अस्पताल दोधारा चाँदनीले संक्रमितहरुलाई फोन मार्फत अवस्था बुझ्ने काम अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म ३ सय भन्दा बढी कोरोना संक्रमित होम आईसोलेसनमा रहेका छन् भने, ८ जना कोभिड अस्पताल दोधारा चाँदनीमा उपचारकै क्रममा रहेका छन् ।

होम आईसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई ताजा स्वास्थ्य अवस्था जान्न तथा उनिहरुलाई उपचार तथा स्वास्थ्य परामर्श दिने कार्य अघि बढाईन लागेको कोभिड अस्पताल दोधारा चाँदनीका सुचना अधिकारी नन्दराज भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको कोभिड अस्पतालको तथ्यांकले देखाउन थालेपछि कोरोना संक्रमणलाई रोक्न, संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर उपचार गरि समुदाय स्तरमा संक्रमण रोक्नको लागी कोभिड अस्पताल दोधारा चाँदनीको होटलाईन फोन नम्वरबाट फोन गरि होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई स्वास्थ्य अवस्था बुझ्ने तथा स्वास्थ्य परामर्श दिने योजना अघि बढाईएको कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले जानकारी दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि कोभिड अस्पताल दोधारा चाँदनीले अस्पतालमै एन्टिजिन परिक्षण कार्य अघि बढाएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी गाँँउ आएर संक्रमण फैलिएको स्थानियहरुले बताउदै आएका छन् । संक्रमितहरुलाई फोन मार्फत सम्पर्क गर्दा समुदायमा कोरोना संक्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोही अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने कोभिड अस्पताल दोधारा चाँदनीको थप योजना रहेको छ । स्वास्थ्यकर्मीले होम आइसोलेसनमा तत्काल बिरामी भईहाले अस्पतालमा ल्याउने, सामान्य भएकाहरुलाई आवश्यक पर्ने औषधीहरुलाई घरमै उपलब्ध गराउने लगाएका कार्य गरिने बताईएको छ् । एक बिरामीबाट समुदाय स्तरमा संक्रमण नफैलियोस् भन्ने हेतुले होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई निगरानी बढाईन थालेको कोभिड अस्पताल दोधारा चाँदनीको भनाई रहेको छ् ।






