नवराज ऐरको पहलमा निःशुल्क आँखा शिविर


झलारी : शुक्लाफाँटा नगरपालिकाको धर्मजन्ता माध्यमिक विद्यालय, स्टेसनपुरमा सोमबार निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। युवा नेता नवराज ऐरको पहलमा नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पतालको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।

शिविरमा विद्यालयका करिब पाँच सय बढी विद्यार्थी तथा शिक्षकको आँखा परीक्षण गरिनेछ। दृष्टिदोष तथा कमजोर दृष्टि भएका विद्यार्थीको पहिचान, आवश्यक औषधि वितरण, चस्मा उपलब्ध गराउने र थप उपचार आवश्यक पर्नेहरूका लागि उपचारको व्यवस्था मिलाइनेछ।

आँखा शरीरको अत्यन्त संवेदनशील अंग भएकाले यसको नियमित परीक्षण र हेरचाह आवश्यक रहेको ऐरले बताए। अहिलेका युवाहरू डिजिटल सामग्री तथा मोबाइल, कम्प्युटरजस्ता उपकरणमा बढी समय बिताउने भएकाले आँखासम्बन्धी समस्या बढ्न सक्ने र समयमै स्वास्थ्य अवस्था जाँच गर्नु आवश्यक देखेर शिविर सञ्चालनको पहल गरेको उनको भनाइ छ।

नेत्रज्योति संघअन्तर्गत सञ्चालित महेन्द्रनगरस्थित आँखा अस्पतालले शिविर सञ्चालनमा प्राविधिक तथा स्वास्थ्य सेवा सहयोग गर्नेछ। विद्यालयले पनि शिविर सञ्चालनका लागि यसअघि नै अनुमति दिइसकेको ऐरले जानकारी दिए।

यसअघि ऐरकै पहलमा गत महिना शुक्लाफाँटा नगरस्तरीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। गैरसरकारी स्वास्थ्य संस्थाको सहयोग र समन्वयमा आयोजित उक्त शिविरबाट नगरवासीले निःशुल्क दन्त स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

वाईसीएल नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी आबद्ध युवा नेता ऐरले स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि सामाजिक पहल गर्दै आएका छन्। आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई काठमाडौँका विभिन्न कलेजसँग समन्वय गरी निःशुल्क र छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको अवसर जुटाउन तथा नगर क्षेत्रका टुहुरा र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन उनले विभिन्न निकायसँग पहल गर्दै आएका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवारसमेत रहेका ऐर स्थानीय विकास निर्माण तथा जनजीविकासँग जोडिएका विषयमा नगरवासीसँग समन्वय र सहकार्य गर्दै आएका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img