पत्रकार विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ क्रियाखर्च सहयोग


महेन्द्रनगर : प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा स्वर्गीय पत्रकार राजेन्द्र विष्टको शोकसन्तप्त परिवारलाई क्रियाखर्चबापत ७१ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको पहलमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम बिहीबार स्वर्गीय पत्रकार विष्टका बुवा जयबहादुर विष्टलाई हस्तान्तरण गरिएको हो। पत्रकार विष्टको बिहीबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ४२ वर्षको अल्पायुमै निधन भएको थियो। उनको निधनपछि परिवारलाई परेको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकम प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका अध्यक्ष मदन गिरी, जिल्ला इन्चार्ज देवराज साउँद, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर छत्याल र सह–इन्चार्ज श्याम भट्टलगायतले परिवारजनलाई हस्तान्तरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरणका क्रममा उपस्थित पत्रकारहरूले शोकसन्तप्त परिवारलाई सान्त्वना दिँदै दिवंगत पत्रकार विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए। सहयोग अभियानमा सुदूरपश्चिमसँगै काठमाडौंका विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरूको समेत सहभागिता रहेको थियो। यसैबीच, नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टसहित प्रेस चौतारी नेपालका नेता तथा पत्रकारहरूले पनि विष्टको निवासमै पुगेर परिवारजनलाई भेट्दै समवेदना व्यक्त गरेका छन्। नेता भट्टले दिवंगत पत्रकार विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिएका थिए। पत्रकार विष्टको परिवारलाई परेको दुःखमा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले पत्रकारहरूबाट सहयोग संकलन गरी एकमुष्ट हस्तान्तरण गरिएको प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव धनबहादुर बोहराले बताए। ‘प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको पहलमा पत्रकारहरूकै साथीभाइबाट सानोसानो रकम संकलन गरी हस्तान्तरण गरेका हौँ,’ सचिव बोहराले भने, ‘छोटो समयावधिमा पनि अग्रज पत्रकार तथा साथीभाइहरूले सहयोग गर्नुभएको छ।

सहयोग गर्ने सबैप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौँ।’ उनले सहयोग संकलन अभियान जारी रहेको जानकारी दिँदै आगामी दिनमा प्राप्त हुने थप सहयोग रकमसमेत स्वर्गीय पत्रकार विष्टको परिवारलाई हस्तान्तरण गरिने बताए। २०६० सालको सुरुवाती दशकमा अभियान दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका विष्टले अपि टुडेका सम्पादकका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए। त्यसपछि उज्यालो रेडियो नेटवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) जस्ता प्रतिष्ठित सञ्चारमाध्यममा काम गर्दै उनले आफ्नो व्यावसायिक यात्रा अघि बढाएका थिए। राससमा डेस्क सम्पादकका रूपमा कार्यरत उनले समाचार सम्पादन तथा सम्प्रेषणको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका थिए। लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेर समाचार लेखन, सम्पादन र सञ्चार क्षेत्रको संस्थागत विकासमा योगदान पुर्‍याएका विष्टको असामयिक निधनले नेपाली पत्रकारिता जगत्ले एक अनुभवी, कर्मशील र समर्पित सञ्चारकर्मी गुमाएको छ। उनको निधन पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति बनेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img