धनगढी: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कैलाली जिल्लाका पुरुष तथा महिला फुटबल टोली च्याम्पियन बनेका छन्।

सोमबार मंसिर १ गते धनगढी रंगशालामा भएको पुरुषतर्फको फाइनल खेलमा कैलालीले कञ्चनपुरलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

त्यसैगरी, आइतबार धनगढी उपमहानगरपालिका-११ मनकामना युवा क्लब जुगेडामा सम्पन्न महिलातर्फको फाइनल खेलमा पनि कैलालीले कञ्चनपुरलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। खेलको अन्तिम समयमा डिबक्सभित्र ह्यान्ड भएपछि कैलालीले पेनाल्टी पाएको थियो। सोही पेनाल्टी गोलमा परिणत भएपछि कैलालीले जित सुनिश्चित गरेको हो।

कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा ३२ खेल मध्य ३० खेलको प्रदेशस्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य एवं फुटबल छनोट प्रतियोगिताका संयोजक काशीराम बोहराले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लामा कार्तिक २८ देखि मंसिर १ गतेसम्म सञ्चालन गरिएको थियो।










