बाल अधिकार र बालविवाह अन्त्यको सन्देशसहित अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो


कञ्चनपुर: “बालिकाको अधिकारमा लगानी गरौँ, बालविवाह अन्त्य गरौँ!” भन्ने नाराका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ उत्साहपूर्वक मनाइएको छ। सुनगंगा र सुनौलो किशोरी क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा बालअधिकार, बालिकाको अधिकार र बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक र्याकली निकालिएको थियो। र्याालीमा सहभागी किशोरीहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर समुदायमा बालविवाह अन्त्य, बालअधिकारको संरक्षण तथा बालिकाको सशक्तीकरणका लागि सचेतना फैलाएका थिए।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेसवान कञ्चनपुरको साझेदारीमा सञ्चालित‘उत्थानशील भविष्यः बालविवाह अन्त्य कार्यक्रम’अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा किशोरी क्लबका सदस्य, अन्य किशोरकिशोरी तथा सुरक्षा निकायका प्रतिनिधिसहित कुल ७५ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ६५ जना बालिका तथा किशोरी र १० जना बालक तथा किशोर रहेका थिए। उनीहरूले बालिकाको अधिकार सुनिश्चित गर्दै बालविवाहमुक्त समुदाय निर्माण गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले बालिकालाई शिक्षा, अवसर र आफ्नो भविष्य आफैँले निर्माण गर्न सक्ने वातावरण प्रदान गर्नुपर्ने सन्देश दिएको छ। बालिकाको अधिकारमा लगानी गर्नु, उनीहरूको आवाजलाई सम्मान गर्नु र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सुरक्षित तथा उज्ज्वल भविष्य निर्माणका लागि महत्त्वपूर्ण रहेको आयोजकले जनाएको छ। बालिकाहरूले नेतृत्व गर्ने, आफ्ना सपना पूरा गर्ने र आत्मविश्वासका साथ अघि बढ्ने वातावरण निर्माण गर्न परिवार, समुदाय तथा सरोकारवाला निकाय सबैको सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। बालविवाह अन्त्य गरी प्रत्येक बालिकाले सम्मानपूर्वक बाँच्न, सिक्न र आफ्नो क्षमता विकास गर्न पाउने वातावरण निर्माण गर्नु दिवसको मुख्य सन्देश रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img