रसुवाको बाढीमा सम्पर्कविहीन कञ्चनपुरका नागरिकका परिवारसँग सांसद महताको भेट


कञ्चनपुर : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सम्पर्कविहीन भएका कञ्चनपुरका नागरिकका परिवार तथा आफन्तसँग कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भेटघाट गर्नुभएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै कञ्चनपुर जिल्लाबाट समेत ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएका थिए। हालसम्म कञ्चनपुर जिल्लाका ३९ जना नागरिक सम्पर्कविहीन भएकोमा ८ जना सम्पर्कमा आएका छन् भने २ जना अस्पतालमा उपचाररत छन्। अझै २९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायबाट जानकारी प्राप्त भएको छ।

सम्पर्कविहीन नागरिकका परिवारमा चिन्ता र अन्योल बढिरहेका बेला सांसद महता र प्रमुख जिल्ला अधिकारी कोइरालाले सम्बन्धित परिवारको घरमै पुगेर उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिनुभएको हो। भेटका क्रममा भीमदत्त नगरपालिका–१० तिलकेनीका पदमबहादुर मल्ल, प्रेमप्रसाद जोशी र उमेश धामीका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिइएको थियो। त्यस्तै भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेश जोशी, वडा नम्बर ८ का श्याम चन्द, वडा नम्बर १८ का लक्ष्मण गुरुङ, वडा नम्बर २ उल्टाखामका मनिष चौधरी, वडा नम्बर ५ बनगाउँका देवबहादुर चन्द तथा वेदकोट नगरपालिका–८ का प्रहरी हवल्दार नरेशप्रसाद भट्ट र पदमराज जोशीका परिवार तथा आफन्तसँग पनि भेटघाट गरिएको थियो। भेटका क्रममा परिवारका सदस्यहरूले आफ्ना आफन्तको अवस्था तत्काल पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिदिन आग्रह गरेका थिए।

लामो समयसम्म सम्पर्क हुन नसक्दा परिवारमा थप चिन्ता र अन्योल सिर्जना भएको भन्दै उनीहरूले सरकारले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। सांसद महताले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको बताउनुभयो। उहाँले आफू पनि सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहेको जानकारी दिँदै परिवारका सदस्यहरूलाई धैर्य राख्न आग्रह गर्नुभयो। घटनाको वास्तविक अवस्था पत्ता लगाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो।

उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गर्दै सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो। कञ्चनपुरबाट सम्पर्कविहीन भएका नागरिकको संख्या अझै ठूलो रहेकाले परिवारजनमा चिन्ता कायमै छ। ८ जना सम्पर्कमा आउनु र २ जना अस्पतालमा उपचाररत रहनु केही राहतको विषय भए पनि २९ जना अझै सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था तत्काल पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने परिवारजनको माग छ। संघीय सांसद स्वयं सम्पर्कविहीन नागरिकका परिवारको घरमै पुगेर उनीहरूको पीडा र अवस्था बुझ्नुका साथै सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएपछि पीडित परिवारमा सरकारप्रति थप आशा र भरोसा पलाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img