कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ मा रहेको श्री पूर्णा आधारभूत विद्यालयका विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितको सहयोगका लागि आर्थिक संकलन गरेका छन्।

विद्यालयको जुनियर रेडक्रस सर्कलको पहलमा विद्यार्थीहरूले स्वयं आर्थिक सहयोग संकलन गरेका हुन्। विद्यार्थीहरूले संकलन गरेको रु. २ हजार २३४ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले विद्यालयका प्रधानाध्यापक दीपक चन्द्र ओझालाई हस्तान्तरण गरिएको छ।

सानो रकम भए पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो तर्फबाट रकम संकलन गरेको विद्यालयले जनाएको छ। यस कार्यले विद्यार्थीहरूमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र विपद्का समयमा सहयोग गर्ने भावनाको विकास गर्नसमेत योगदान पुग्ने विश्वास गरिएको छ।











