९औँ संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता सुरु

महिला मैत्रीपूर्ण फुटबलमा अल स्टारको जित, पुरुषतर्फ अरनिको युवा क्लब पुनर्वास विजयी


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरिएको ९औँ संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन भव्यताका साथ सम्पन्न भएको छ।

बेल्डाँडी गाउँपालिका–१ मा रहेको अल स्टार युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोह एक कार्यक्रमबीच बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले गर्नुभएको प्रतियोगिता संयोजक मनोज खडायतले जानकारी दिनुभयो।

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष लोकबहादुर बलायरले गर्नुभएको थियो भने प्रमुख अतिथिमा बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ रहनुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य गौरी उपाध्याय, वडा सदस्य श्याम रावल, बेल्डाँडी गाउँ खेलकुद समितिका अध्यक्ष डम्बर सुनार लगायत बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सहसचिव दीपक कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका सचिव धनबहादुर महताले राख्नुभएको थियो।

उद्घाटन अवसरमा भएको महिला मैत्रीपूर्ण फुटबल खेलमा अल स्टार युवा क्लब विजयी भएको छ। अल स्टार र जयलक्ष्मी क्लबबीच भएको खेलमा अल स्टारले १०–० गोलको फराकिलो अन्तरले जयलक्ष्मी क्लबलाई पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।

त्यस्तै, प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा अरनिको युवा क्लब पुनर्वासले विजयी सुरुवात गरेको छ। बेल्डाँडी फुटबल एकेडेमी र अरनिको युवा क्लब पुनर्वासबीच भएको खेलमा अरनिकोले ४–० गोलको अन्तरले बेल्डाँडी फुटबल एकेडेमीलाई पराजित गरेको हो।

दोस्रो दिन चार खेल हुने

प्रतियोगिताको दोस्रो दिन भाद्र १५ गते चार खेल हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९ बजे अल स्टार युवा क्लब ‘सी’ र बैबाह युवा समाजबीच हुनेछ। त्यसपछि प्रगति एकता समाज र एबीएफसी बाणीबीच खेल हुनेछ। तेस्रो खेल दिउँसो २ बजे हाम्रो एकता हाम्रो बल र चौधरी ब्वाइजबीच हुनेछ। त्यसैगरी, दिनको अन्तिम खेल सुदूरपश्चिम प्रदेश प्रहरी फुटबल क्लब र जेन्जी फुटबल क्लब मोतीबस्तीबीच हुने आयोजकले जानकारी दिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img