महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशस्तरीय यू–१५ पुरुष फुटबल छनोट कार्यक्रम सम्पन्न भएको छ।

शनिबार कञ्चनपुर जिल्ला खेलकुद समितिको महेन्द्रनगरस्थित कभर्डहल खेलमैदानमा यू–१५ पुरुष फुटबल छनोट कार्यक्रम सम्पन्न भएको हो।

फिफा यू-१५ विश्वकप फुटबल र फेस्टिबल २०२६ (पुरुष) नेपालले पनि सहभागिता जनाउने तयारीअन्तर्गत सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाबाट छनोट भएका खेलाडीहरू प्रदेशस्तरीय छनोटमा सहभागीता रहेको सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले बताउनु भयो।

उनका अनुसार, केन्द्रले यामप्रसाद गुरुङलाई सुदूरपश्चिम प्रदेशको छनोट कार्यक्रमको जिम्मेवारी दिएको उक्त छनोट कार्यक्रममा कैलाली र कञ्चनपुरका गरी ९९ जना खेलाडीको सहभागिता रहेको थियो।
गाउँदेखि सहरसम्म रहेका युवा खेलाडीभित्रको प्रतिभा पहिचान गर्ने उद्देश्यले सञ्चालन भइरहेका छनोट कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको सहभागीहरूले बताएका छन्। यसअघि विभिन्न छनोट कार्यक्रमहरू कैलालीमा हुँदै आए पनि कञ्चनपुरमा प्रदेशस्तरीय छनोट कार्यक्रम आयोजना हुँदा खेलाडी तथा खेलप्रेमीहरू उत्साहित भएका छन्। छनोट कार्यक्रमले स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्नुका साथै फुटबल विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।










