आफ्नो गाउँ, आफैँ बनाऔँ : सामाजिक परिवर्तनमा सक्रिय


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा सक्रिय अल स्टार युवा क्लब खेलकुद क्षेत्रको विकाससँगै सामाजिक परिवर्तन र समुदाय विकासका गतिविधिमा समेत सक्रिय हुँदै गएको छ।

युवाहरूलाई खेलकुदमार्फत एकजुट गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानलाई निरन्तरता दिँदै आएको क्लबले विशेषगरी वर्षायाममा गाउँघरका सडक तथा बाटाघाटामा परेका खाल्डाखुल्डी पुर्ने, सडक सुधार गर्ने र स्थानीयको आवागमन सहज बनाउने जस्ता सामाजिक कार्य गर्दै आएको छ।

यसैक्रममा बेल्डाँडी गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालय तथा कालिका मन्दिर नजिकको मुख्य सडकमा वर्षाका कारण परेका खाल्डाखुल्डी पुर्ने तथा सडकलाई आवागमनयोग्य बनाउने कार्य गरिएको छ।

सडकमा खाल्डाखुल्डी परेपछि स्थानीयवासी तथा सवारीसाधनको दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो। ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने उद्देश्यका साथ क्लबका प्रतिनिधि, साधारण सदस्य तथा अग्रजहरूको सहभागितामा उक्त सामाजिक कार्य सम्पन्न गरिएको क्लबले जनाएको छ।

अल स्टार युवा क्लबले बेल्डाँडी गाउँपालिका–१ मा खेलकुद विकास, सामाजिक रूपान्तरण, युवाको सक्रिय सहभागिता तथा समुदायप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
क्लबको यस्तो अभियानले स्थानीयस्तरमा युवाहरूको सामाजिक सहभागिता बढाउनुका साथै सामुदायिक एकता, सहकार्य र सकारात्मक परिवर्तनको सन्देश समेत प्रवाह गरेको छ।

समाज परिवर्तनका लागि ठूला योजना मात्र होइन, आफ्नै गाउँको बाटोघाटो सुधार गर्ने सानो प्रयास पनि महत्वपूर्ण योगदान बन्न सक्छ भन्ने उदाहरण अल स्टार युवा क्लबले प्रस्तुत गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img