खेमराज भट्ट/काठमाडौं : काठमाडौं महानगरपालिकाले बानेश्वर, नयाँबानेश्वर, मैतीदेवी र पुतलीसडक क्षेत्रका सार्वजनिक स्थान तथा सडक आसपासमा राखिएका अनियमित विज्ञापन सामग्री हटाउने अभियानलाई तीव्रता दिएको छ। काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले महानगरको सौन्दर्य, सार्वजनिक स्थानको व्यवस्थापन तथा पैदलयात्रीको सहज आवागमनमा असर पार्ने गरी राखिएका १३ थान अनियमित विज्ञापन सामग्री हटाएको हो।

महानगरले अनुमति नलिई राखिएका, तोकिएको मापदण्डविपरीत रहेका तथा सार्वजनिक स्थानको दृश्य सौन्दर्यमा असर पार्ने विज्ञापन सामग्रीलाई क्रमशः हटाउँदै जाने जनाएको छ। सार्वजनिक स्थानलाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत महानगर प्रहरीको टोलीले विभिन्न क्षेत्रमा नियमित अनुगमन तथा कारबाही गर्दै आएको छ। महानगरपालिकाले व्यवसायी तथा विज्ञापनदातालाई प्रचलित नियम र मापदण्ड पालना गरी मात्र विज्ञापन सामग्री राख्न आग्रह गरेको छ।











