हेमा भट्ट/कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आरक्षपीडितका दीर्घकालीन समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्ला अध्यक्ष जयबहादुर रोकाया, केन्द्रीय संयोजक प्रेमदत्त भट्ट, सचिव कृष्ण भट्टलगायत समितिका पदाधिकारी तथा सदस्यहरूसँग भएको भेटघाटका क्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दिपक राज बाेहरा ले आरक्षपीडितका समस्या समाधानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

भेटघाटका क्रममा आरक्ष विस्तारका क्रममा विस्थापित तथा प्रभावित बनेका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएका समस्या, पुनर्स्थापना, मुआब्जा, जग्गा तथा अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको थियो। सांसद भट्टले आरक्षपीडितलाई न्यायोचित अधिकार दिलाउन सरकारसँग आवश्यक पहल गर्दै यसै साता शुक्रबारसम्म अधिकारसम्पन्न आयोग गठनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको समितिले जनाएको छ। आरक्षपीडितहरूले वर्षौंदेखि आफ्ना माग सम्बोधन गर्न सरकारसँग माग गर्दै आएका छन्। पटक-पटक आश्वासन पाए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको भन्दै पीडितहरूले अधिकारसम्पन्न संयन्त्रमार्फत आफ्नो समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।

भेटघाटमा सहभागी समिति पदाधिकारीहरूले आयोग गठनसँगै आरक्षपीडितको वास्तविक अवस्था पहिचान गरी पुनर्स्थापना, क्षतिपूर्ति तथा हक-अधिकार सुनिश्चित गर्ने गरी ठोस निर्णय आवश्यक रहेको बताएका थिए। समितिले सांसद भट्टको प्रतिबद्धताले लामो समयदेखि समाधानको पर्खाइमा रहेका आरक्षपीडितका समस्या सम्बोधन हुने अपेक्षा गरिएको जनाएको छ।











