कञ्चनपुर : घुसुडी महोत्सवका संयोजक तथा सामाजिक अभियन्ता करन सिंह पाल भारतमा आयोजना हुन लागेको बृहत् सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। हिमालय युवा समिति र देशप्रेमी सांस्कृतिक रङ्गमञ्चको संयुक्त आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीज तथा गौरा पर्वको अवसरमा भारतका विभिन्न शहरमा सांस्कृतिक महोत्सव आयोजना हुन लागेको हो।

महोत्सवमा चर्चित तीज गायक खुमन अधिकारीको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। महोत्सव सेप्टेम्बर १३ मा चेन्नई र सेप्टेम्बर १४ मा बैङ्गलोरमा आयोजना हुने बताइएको छ। नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा समेत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

घुसुडी महोत्सवको सफल आयोजना मार्फत सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका पालको भारतमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागितालाई नेपाली संस्कृति र प्रवासी नेपाली समुदायबीचको सम्बन्ध विस्तारका रूपमा समेत हेरिएको छ।











