कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पाँच थान साइकिल, पाँच थान टर्च र लागुऔषध परीक्षण किट सहयोग गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले प्रमुख जिल्ला अधिकारी मदन कोइराला तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

उद्योग वाणिज्य संघका पदाधिकारीहरूको लेभी कोष तथा नेको इन्स्योरेन्सको सहयोगमा खरिद गरिएका पाँच थान साइकिल, पाँच थान टर्च र लागुऔषध परीक्षण किट जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो। संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा प्रहरी गस्तीलाई प्रभावकारी बनाउन तथा लागुऔषधको पहिचान र नियन्त्रण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।

सामग्री ग्रहण गर्दै एसपी नेत्रमणि गिरीले छोटो दूरीमा प्रहरी गस्ती सञ्चालनका लागि साइकिल प्रभावकारी हुने बताउँदै आवश्यकता अनुसार साइकिलमार्फत गस्ती परिचालन गरी अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइने बताए। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निजी क्षेत्रबाट प्राप्त सहयोगले समुदायमा हुने अपराधजन्य गतिविधि नियन्त्रण तथा नागरिक सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले उपलब्ध गराइएका स्रोत–साधनको सदुपयोग गर्दै प्रहरी नागरिक सुरक्षामा अझ प्रभावकारी रूपमा परिचालन हुने बताए।

उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई उक्त सहयोग गरिएको जानकारी दिँदै विगतदेखि नै संघले प्रहरी गस्तीका लागि आवश्यक विभिन्न भौतिक सामग्री सहयोग गर्दै आएको बताए। सामग्री हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य, सुरक्षा निकायका प्रतिनिधि, प्रशासनिक अधिकारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।










