कैलाली जिल्ला तेक्वान्दो संघको सम्मान कार्यक्रम

उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित, तेक्वान्दो विकासलाई थप ऊर्जा


हेमा भट्ट / कैलाली – स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसात गर्दै कैलाली जिल्ला तेक्वान्दो संघको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ र सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको समन्वयमा शनिबार धनगढीमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडी र प्रशिक्षकको योगदानको कदर, नयाँ प्रतिभाको पहिचान तथा युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले कैलाली जिल्ला तेक्वान्दो संघको सक्रिय भूमिका र खेल विकासप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ। धनगढी रंगशालामा बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुम्से विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित जिल्लाको तेक्वान्दो क्षेत्रमा योगदान पुर्याएका प्रशिक्षक, खेलकर्मी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्मानित खेलाडीहरूलाई प्रमाणपत्र, खादा, तेक्वान्दो ड्रेस तथा टीका प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख आश्रम केसीले खेलाडी र प्रशिक्षकको सम्मानले खेल क्षेत्रलाई थप सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। उनले खेलाडीको मेहनत, अनुशासन र लगनशीलताको उचित मूल्याङ्कन हुनुपर्ने उल्लेख गर्दै स्थानीय तह, खेल संघ र सम्बन्धित निकायले खेल पूर्वाधार निर्माण तथा खेलाडीलाई आवश्यक अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। सम्मान कार्यक्रमले खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने उनको भनाइ थियो। विशिष्ट अतिथि वरिष्ठ तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंहले तेक्वान्दो पदक जित्ने खेल मात्र नभई अनुशासन, आत्मविश्वास, आत्मरक्षा र राष्ट्रप्रतिको जिम्मेवारी सिकाउने माध्यम भएको बताए। उनले कैलाली जिल्ला तेक्वान्दो संघले खेलाडीको सम्मान गर्दै उनीहरूको मनोबल बढाउने महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै सम्मानित खेलाडीहरूले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरे।

प्रदेश प्रशिक्षक लक्ष्मण श्रेष्ठले पछिल्लो समय कैलालीमा तेक्वान्दोप्रति युवाको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताए। नियमित प्रशिक्षण, गुणस्तरीय प्रतियोगिता र यस्ता सम्मान कार्यक्रमले खेलाडीमा आत्मविश्वास अभिवृद्धि गर्ने उल्लेख गर्दै उनले आगामी दिनमा कैलालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थप पदक विजेता उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए। कार्यक्रमका सभापति तथा कैलाली जिल्ला तेक्वान्दो संघका अध्यक्ष नित्य चौलागाईंले संघले खेलाडी र प्रशिक्षकको सम्मानलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीको संघर्ष, मेहनत र उपलब्धिको समाजले सम्मान गरे मात्र उनीहरू अझ ठूलो लक्ष्य प्राप्त गर्न प्रेरित हुने बताए। उनले कैलाली जिल्ला तेक्वान्दो संघले विगतदेखि नै जिल्लामा तेक्वान्दो खेलको विस्तार, नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन, नयाँ प्रतिभाको खोजी तथा खेल संस्कृतिको विकासका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरे।

संघको नेतृत्वमा भइरहेका गतिविधिले जिल्लामा तेक्वान्दोप्रतिको आकर्षण बढ्नुका साथै राष्ट्रियस्तरमा समेत उत्कृष्ट खेलाडी उत्पादन हुन थालेको उनको भनाइ थियो। प्रशिक्षक रतन खत्रीले खेलकुद स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै युवालाई लागुऔषध, कुलत तथा सामाजिक विकृतिबाट टाढा राख्न तेक्वान्दोजस्ता अनुशासनमुखी खेलको महत्वपूर्ण भूमिका रहेको बताए। उनले जिल्लामा खेल विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा नेहा चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन प्रशिक्षक इन्द्रबहादुर शाहीले गरेका थिए। उनले सम्मान कार्यक्रम पुरस्कार वितरणमा मात्र सीमित नभई खेलाडीको संघर्ष, पसिना, अनुशासन र सफलताको सम्मान भएको बताए। यस अवसरमा दीपा जैसी, प्रीति सिंह, कविता जोशी, अमन चौधरी, विशाल भट्ट, आदर्श रैनी, रचिता चौधरी, हरिस बोहरा, आकाश कामी, वैभव भट्ट, आशिका सिंह र गरिमा पार्की लगायतका उत्कृष्ट खेलाडी सम्मानित भएका थिए। उत्कृष्ट प्रशिक्षकका रूपमा योगेन्द्र खोलाउला सम्मानित भए। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि आश्रम केसी तथा विशिष्ट अतिथि शेरबहादुर सिंहलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा उपनिर्देशक सुरेन्द्र सागर जोशी, प्रशिक्षक प्रेमराज जोशी, रामचन्द्र जोशी, प्रदेश प्रशिक्षक लक्ष्मण श्रेष्ठ, रैकवार खबर दैनिकका सञ्चालक पदम सुनार, कैलाली सुनचाँदी व्यवसायी संघ तथा तेक्वान्दो संघका दिपेन्द्र सिजापती, विभिन्न जिल्लाका प्रशिक्षक, खेलाडी, अभिभावक, खेलप्रेमी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक कैलाली जिल्ला तेक्वान्दो संघका अनुसार यस्ता सम्मान कार्यक्रमले खेलाडी र प्रशिक्षकको मनोबल उच्च बनाउनुका साथै नयाँ प्रतिभाको पहिचान, युवालाई खेलतर्फ आकर्षित गर्ने वातावरण निर्माण, अनुशासित समाज निर्माण तथा जिल्लाको समग्र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कैलाली जिल्ला तेक्वान्दो संघले आगामी दिनमा जिल्लाभर प्रशिक्षण कार्यक्रम विस्तार, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन, ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आफ्नो अभियानलाई अझ सशक्त बनाउने जनाएको छ। शनिबार सम्पन्न सम्मान कार्यक्रमले खेलाडी, प्रशिक्षक, अभिभावक र खेलप्रेमीबीच नयाँ उत्साह सिर्जना गर्नुका साथै कैलाली जिल्ला तेक्वान्दो संघ जिल्लाको तेक्वान्दो विकासमा अग्रणी संस्था बनेर निरन्तर सक्रिय रहेको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।


Loading Viewer...

ताजा समाचार

spot_img