धनगढी: सुदूरपश्चिम प्रदेशको धनगढीमा बहु–सरोकारवाला मञ्चबीच लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका हक–अधिकार तथा समावेशी नीतिका विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार युरोपेली संघ र डीसीए नेपालको सहकार्य तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय महासंघ को आयोजनामा सञ्चालित प्राइड परियोजना अन्तर्गत धनगढीस्थित होटल डिभोटीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न सरकारी निकाय सुदूरपश्चिम प्रदेश सांसद, सरोकारवाला संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक–अधिकारको संरक्षण, सामाजिक समावेशीकरण, समान अवसर र नीतिगत सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ राष्ट्रिय कार्यक्रम संयोजक सिम्रन शेरचनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था, उनीहरूले भोगिरहेका चुनौती, कानुनी अधिकार तथा सामाजिक स्वीकृतिको आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले सबै तहबाट समावेशी सोच र व्यवहारको विकास गर्दै समुदायका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
आयोजकका अनुसार यस्ता बहु–सरोकारवाला छलफलले नीति निर्माण, समन्वय र समुदायका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। जसमा कार्यक्रम सञ्चालन यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ सुदूरपश्चिम प्रदेशका प्रादेशिक फोकल पर्सन धनबहादुर चौधरीले गर्नुभएको थियो।











