डिल्लीराज पन्त/कञ्चनपुर : प्रतिनिधि सभाको शून्य समयमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले कैलाली र कञ्चनपुरका किसानहरू छाडा चौपायाको समस्याबाट गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

सदनमा बाँदर आतंकको विषयमा छलफल भइरहेका बेला सांसद महताले कैलाली र कञ्चनपुरमा बाँदरभन्दा पनि छाडा चौपायाको समस्या अझ गम्भीर रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यी दुई जिल्लामा मात्रै करिब १० हजारभन्दा बढी छाडा चौपायाका कारण धान, गहुँ, मकै तथा तरकारीबालीमा ठूलो क्षति भइरहेको छ।

उहाँले किसानहरू खेतीपाती गर्नुभन्दा बढी समय चौपाया धपाउन बाध्य भएको, कतिपय किसान रातभर खेतमै जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो। यो समस्या केवल बाली नोक्सानीमा सीमित नभई कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको उहाँको भनाइ थियो।लसांसद महताले समयमै प्रभावकारी समाधान नभए किसान कृषि पेशाबाट पलायन हुने र खेतीयोग्य जमिन बाँझिने जोखिम बढ्ने भन्दै नेपाल सरकारसँग छाडा चौपाया व्यवस्थापनका लागि विशेष कार्ययोजना ल्याउन आग्रह गर्नुभयो।

उहाँले स्थानीय तहसँग समन्वय गरी गौशाला निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न, बाली क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र छाडा चौपाया छाड्ने प्रवृत्तिमाथि कडा कानुनी नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। सांसद महताले किसानको श्रम, उत्पादन र जीविकोपार्जनको संरक्षणका लागि छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नु भएको छ ।










