झलारी : असार लागेसँगै खेतमा रोपाइँको चटारो छ । गाउँघरका किसान बिहानदेखि साँझसम्म धान रोप्ने तयारीमा व्यस्त छन् । तर शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका प्रेम लुहारको घरमा भने यतिबेला रोपाइँको उत्साह होइन । चिन्ता र निराशाले डेरा जमाएको छ । परिवार पाल्ने आधार बनेको गोरु करेन्ट लागेर मरेपछि उहाँको खेतीपातीको कार्य अलपत्र परेको छ ।

थोरै आफ्नै जग्गा र अधियामा लिएको खेत जोतेर पाँच जनाको परिवारको गुजारा चलाउँदै आएका लुहारका लागि गोरु केवल पशु मात्र थिएन । त्यो परिवारको अन्नबाली उत्पादन गर्ने मुख्य सहारा थियो । आज(बुधबार) साँझ धान रोपाइँका लागि खेत जोतिरहेका बेला खेत नजिकै रहेको विद्युतीय ट्रान्सफर्मरबाट प्रवाहित करेन्ट लागेर गोरु अचानक ढलेको थियो ।

घटनाको सम्झना गर्दै लुहार भावुक बन्नु हुन्छ । भक्कानिएर रुनु हुन्छ । “म खेतमै गोरु जोतिरहेको थिएँ, एक्कासि गोरु ढल्यो, उठाउन दौडिएँ, तर आफैँले पनि करेन्टको झट्का महसुस गरेँ, केही छिनमै गोरु मरेको थाहा पाएँ,” उहाँले भक्कानिदै भन्नुभयो, “भगवानको कृपाले म जोगिएँ, तर मेरो गोरु बचेन, अहिले खेती गर्ने आधार नै सकियो ।” उहाँका अनुसार विद्युत् प्राधिकरणका कर्मचारीलाई खबर गरेपछि मात्रै मरेको गोरुलाई साँझ अबेर खेतबाट हटाउन सकियो ।

घटनापछि परिवारका सदस्यहरू स्तब्ध बनेका छन् । रोपाइँको यही समयमा खेत जोत्ने गोरु गुम्यो,वर्षभरिका लागि अन्नको जोहो अब के ले गर्ने उहाँ भन्नुहुन्छ । “गोरुकै भरमा अधियामा खेत जोतेर वर्षभरि परिवारका लागि अन्न जुटाउँदै आएको थिएँ,” लुहारले भन्नुभयो, “अहिले खेती गर्ने समय हो, गोरु पाउन पनि गाह्रो छ, पाए पनि किन्ने हैसियत छैन, पाँच जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन पो थाल्यो ।”
छिमेकी धनबहादुर चौधरीका अनुसार प्रेम लुहारको परिवार आर्थिक रूपमा अत्यन्त कमजोर छ । “उहाँहरू खेती र ज्याला–मजदुरी गरेर जेनतेन जीवन धान्दै आएका हुन्,” चौधरीले भन्नुभयो, “गोरु मरेपछि यस वर्षको खेती नै प्रभावित हुने अवस्था आएको छ, नयाँ गोरु किन्ने सामथ्र्य परिवारसँग छैन, सहयोगी हातहरू अघि बढे परिवारलाई ठूलो राहत मिल्ने थियो ।”
स्थानीयका अनुसार प्रेम लुहार बिहानदेखि बेलुकासम्म कहिले खेतमा काम गर्छन्, कहिले गाउँघरमा ज्याला–मजदुरी । खेतीबाट वर्षभरिका लागि आवश्यक अन्न जुटाउने र अन्य खर्च मजदुरीबाट टार्ने उहाँहरूको पुरानो जीवनशैली हो । तर अहिले खेत जोत्ने साधन गुमेपछि खेती गर्न सकिने कि नसकिने भन्ने अन्योल थपिएको छ । “समयमै सहयोग नपाए यस वर्ष खेत बाँझै रहने हो कि भन्ने डर लागेको छ,” लुहारले भन्नुभयो ।










