“बेदकोट : प्रकृति, आस्था र समृद्धिको अनुपम स्थल”


राम सिह ठगुन्ना : नेपालको सुदूरपश्चिममा एउटा यस्तो भूमि छ जहाँ प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रङहरू पोखेको छ जहाँ हरियालीले आँखालाई शीतलता दिन्छ जहाँ तालले आकाशलाई आफ्नै काखमा समेटेको छ जहाँ प्रत्येक बिहान नयाँ आशाको कथा सुनाउँछ र प्रत्येक साँझले शान्तिको अनुभूति गराउँछ त्यही अनुपम भूमिको नाम हो बेदकोट ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक विरासत र विकासको अथाह सम्भावना बोकेको बेदकोट नगरपालिका आज सुदूरपश्चिमकै एक उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

बेदकोट केवल एउटा नगरपालिका होइन ।यो प्रकृति र संस्कृतिको अद्भुत संगम हो ।जहाँ धार्मिक विश्वास र जैविक विविधता एकै ठाउँमा भेटिन्छन् ।जहाँ स्थानीय जीवनशैली, संस्कृति र सभ्यताले पुस्तौँदेखि आफ्नै मौलिक पहिचान बोकेको छ।प्रकृतिले उदार भएर दिएको सम्पदालाई संरक्षण गर्दै त्यसैलाई समृद्धिको आधार बनाउने यात्रामा बेदकोट नगरपालिका निरन्तर अघि बढिरहेको छ। आज बेदकोटले विकासलाई केवल सडक र भवनमा मात्र सीमित राखेको छैन।प्राकृतिक सम्पदा, धार्मिक धरोहर,संस्कृति विविधता र पर्यटन ।यी सबैलाई समेटेर दिगो आर्थिक समृद्धिको नयाँ मार्ग निर्माण गर्ने प्रयास भइरहेको छ। पर्यटन केवल घुमफिर मात्र होइन ।यसले रोजगारी सिर्जना गर्छ। स्थानीय उत्पादनलाई बजार दिन्छ । संस्कृतिको संरक्षण गर्छ र नयाँ पुस्तालाई आफ्नै पहिचानसँग जोड्छ। यही विश्वासका साथ बेदकोटले पर्यटनलाई विकासको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेको छ र बेदकोट तालले यि यावत सम्भावनाहरूलाइ उजागर गर्ने र साथर्क परिणाम ल्याउने एक महत्वपुर्ण कडिको रूपमा रहेको छ ।

धार्मिक आस्थाले यसलाई बेदकोट धाम भनेर सम्मान गर्दछ भने प्रकृतिप्रेमीहरू यसलाई सुदूरपश्चिमको अनुपम रत्नका रूपमा सम्झन्छन्। पहाडको काखमा शान्त भएर फैलिएको यो तालले हरेक आगन्तुकलाई पहिलो दृष्टिमै मोहित बनाइदिन्छ। यसको स्वच्छ जलराशिमा देखिने लिप्ना पहाडको प्रतिबिम्ब यस्तो लाग्छ, मानौँ प्रकृतिले आफ्नै अनुहार पानीभित्र हेरेर मुस्कुराइरहेकी हो। हावाको हल्का स्पर्शसँगै पानीमा उठ्ने स-साना लहरहरू, त्यसमाथि लयबद्ध रूपमा विचरण गरिरहेका हाँसहरू, पानीको गहिराइमा स्वतन्त्रतापूर्वक पौडिरहेका असंख्य माछाहरू, यी सबै दृश्यले बेदकोट ताललाई केवल एउटा ताल नभई जीवित प्राकृतिक संग्रहालयको अनुभूति गराउँछन्। कहिलेकाहीँ तालमा देखिने गोहीहरूको सहज आवागमनले आगन्तुकलाई थप रोमाञ्चित बनाउँछ। प्रकृति यहाँ प्रत्येक क्षण नयाँ चित्र कोरिरहेकी हुन्छ। तालको त्यो संसारतर्फ, जहाँ प्रकृतिको प्रत्येक आवाज एउटा कथा हो । जहाँ चराको प्रत्येक उडानले जीवनको निरन्तरतालाई सम्झाइरहेको हुन्छ र जहाँ पानीको प्रत्येक तरङ्गले भविष्यको जिम्मेवारी बोकिरहेको हुन्छ।यहि अनुपम संगम हो बेदकोट ताल ।

बेदकोट ताल केवल एउटा जलाशय होइन।यो सयौं जीवजन्तु र वनस्पतिको साझा घर हो।यहाँ विभिन्न प्रजातिका माछाहरू स्वतन्त्र रूपमा विचरण गर्छन्। पानीमाथि शान्त रूपमा पौडिरहेका हाँसहरू, किनारमा ध्यानमग्न उभिएका बकुल्लाहरू, आकाशमा गोलाकार उडिरहेका चराहरू, यी सबैले तालको जीवन्त पारिस्थितिक प्रणालीको परिचय दिन्छन्। ऋतु परिवर्तनसँगै यहाँ आउने केही आगन्तुक चराहरूले पनि बेदकोट ताललाई आफ्नो अस्थायी बासस्थान बनाउने गरेका छन्। ताल वरपरका रुखबिरुवा, सिमसार वनस्पति तथा जलचरहरूले यहाँको वातावरणलाई सन्तुलित बनाइरहेका छन्। प्रकृति आफैंले सिर्जना गरेको यो सन्तुलन नै बेदकोट तालको सबैभन्दा ठूलो सम्पत्ति हो । बेदकोट ताल केवल प्राकृतिक सम्पदा मात्र होइन। यो हजारौं श्रद्धालुको आस्थाको केन्द्र पनि हो। स्थानीय जनविश्वासअनुसार, तालको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। विशेषगरी शिवरात्रि, नागपञ्चमी, जनैपूर्णिमा, तथा अन्य धार्मिक अवसरमा देशका विभिन्न स्थानबाट भक्तजन यहाँ आइपुग्छन्। धार्मिक अनुष्ठान, पूजा, भजन, कीर्तन र मेलाले बेदकोट ताललाई वर्षभरि जीवित राख्ने सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरेका छन्। बेदकोट ताल स्थानीय समुदायको दैनिक जीवनसँग पनि उत्तिकै गहिरो रूपमा जोडिएको छ। कसैका लागि यो श्रद्धाको स्थल हो। कसैका लागि जीविकोपार्जनको आधार। कसैका लागि विश्राम गर्ने प्राकृतिक आश्रय र धेरैका लागि गर्व गर्ने आफ्नै पहिचान। स्थानीय समुदायले पुस्तौंदेखि यस तालसँग सम्बन्धित परम्परा, संस्कार र संरक्षणको भावना जोगाउँदै आएका छन्।

बेदकोट तालमा धार्मिक पर्यटनसँगै प्राकृतिक पर्यटनको अथाह सम्भावना रहेको छ। यदि योजनाबद्ध रूपमा पूर्वाधार विकास गर्न सकियो भने । बोटिङ, प्रकृति अवलोकन, बर्ड वाचिङ, फोटोग्राफी, पर्यावरणीय अध्ययन, तथा शैक्षिक भ्रमणका लागि यो क्षेत्र राष्ट्रियस्तरकै आकर्षक गन्तव्य बन्न सक्छ। यसले स्थानीय रोजगारी, व्यापार, होटल व्यवसाय र समग्र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिन सक्छ। तर,प्राकृतिक सम्पदाको संरक्षण चुनौतीविहीन छैन।बढ्दो मानव चाप, अव्यवस्थित फोहोर व्यवस्थापन, जलप्रदूषण, वन अतिक्रमण, र जलवायु परिवर्तनका प्रभावहरूले तालको प्राकृतिक स्वरूपमाथि दबाब बढाइरहेका छन्। यदि आज संरक्षणमा ध्यान नदिने हो भने, भोलिको पुस्ताले यही सुन्दरतालाई केवल तस्वीरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्छ त्यसकारण यसको संरक्षण पनि त्यतिकै महत्वपुर्ण छ । यद्यपि आशाको किरण अझै बलियो छ। स्थानीय समुदाय, बेदकोट नगरपालिका, वन कार्यालय, सामुदायिक वन,विभिन्न संघसंस्था र संरक्षणकर्मीहरूले तालको संरक्षणका लागि निरन्तर प्रयास गरिरहेका छन्।सरसफाइ अभियान,वृक्षारोपण,जनचेतना कार्यक्रम,र पर्यावरण संरक्षणका गतिविधिहरूले सकारात्मक सन्देश दिइरहेका छन्। बेदकोट ताल, यो केवल पानीको विशाल विस्तार होइन, यो प्रकृतिको धड्कन हो, आस्थाको उज्यालो हो,संस्कृतिको निरन्तरता हो र भविष्यका पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य सम्पदा हो। हामीले यसलाई केवल हेर्नु होइन, बुझ्नुपर्छ ,माया गर्नुपर्छ र जोगाउनुपर्छ।किनकि,प्रकृति बच्यो भने सभ्यता बाँच्छ। ताल बच्यो भने हाम्रो पहिचान पनि सदासर्वदा जीवित रहनेछ।

“प्रकृतिलाई माया गरौं।
बेदकोट ताललाई संरक्षण गरौं।”
“धन्यवाद”


Loading Viewer...

ताजा समाचार

spot_img