पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा रहेको कुतियाकवर बस्तीका स्थानीय बासिन्दाहरुले बाढीको जोखिम संग जुध्नका लागि एक अनौठो पूर्व तयारी अभियान अपनाएका छन् । यहाँका घरका छानोमा रातो झण्डा फहराईएका छन्, जसमा फरक–फरक संकेतहरु बनाइएका छन् । यो अभियानले विपद्को समयमा खोज तथा उद्धार कार्यलाई अझ सहज बनाउने स्थानीयको विश्वास छ् । कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सचिव बसन्ती सुनारका अनुसार बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपांगता भएका व्यक्तिको घरमा अपांगताको चित्र र बालबालिका तथा वृद्ध–वृद्धा नभएका घरमा सादा झण्डा रातो राखिएका छन् । उद्धारकर्मीहरुलाई बाढी आएका बेला कुन घरमा कस्ता व्यक्ति छन् र कसलाई प्राथमिकता दिने भन्ने जानकारी तत्काल उपलब्ध गराउने हुदा सांकेतिक रातो घरको देख्ने स्थानमा लगाईएको सचिव बसन्ती सुनारले बताउनुभयो ।

महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्ती दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढीको उच्च जोखिममा रहेको बस्ती मानिन्छ् । वर्षेनी बाढीले ठुलो धनमालको क्षती बनाउदै आएको बस्तीमा यस पटक भने संघिय सरकारले उक्त बस्ती जोगाउन पक्की तटबन्ध निमार्ण गरेको छ् । बस्तीमा स्थानियबासी खड्के बुढाका अनुसार तटबन्ध निमार्ण भएता पनि महाकाली नदी र जगबुडा नदीको भंगालो पसेर बस्ती पस्ने त्रास त्यत्तीकै रहेको बताउनुभयो । मनसुन सुरु भए संगै बस्तीमा बाढीको पुर्व तयारी सुरु गरिएको उहाँले बताउनुभएको छ ।

झण्डै ५० बिघाह क्षेत्रफल ओगटेको कुतियाकवर बस्तीको ३९ घरधुरीमा रातो सांकेतिक झण्डा लगाईएको स्थानियबासी खड्के बुढाले बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ र सिआरसी परियोजना, कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको सहयोग र सहकार्यमा बस्तीको घरहरुमा सांकेतिक रातो झण्डा लगाईएको उहाँले बताउनुभएको छ् ।

स्थानीयस्तरमा गरिएको यो पूर्वतयारी प्रयास प्रशंसनीय भएपनि दीर्घकालीन समाधानका लागि दिर्घकालिन नदी नियन्त्रण र सुरक्षित स्थानान्तरणका योजनाहरुमा थप सरकारी पहलको आवश्यकता देखिएको एकथरीको भनाई रहेको छ् ।










