दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण, शिक्षामा निरन्तरताका लागि जनचेतनामूलक कार्यक्रम


झलारी : राष्ट्रिय हलिया मुक्ति समाज, कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिका–५ को सहयोगमा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा शैक्षिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। झलारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा शुक्लाफाँटा नगरपालिका–५ का ४० जना दलित बालबालिकालाई विद्यालय पोसाक, विद्यालय झोला, एक दर्जन कापी, कलम तथा शैक्षिक सामग्री राख्न मिल्ने औजार बक्स (स्टेसनरी बक्स) वितरण गरिएको हो।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य गणेश विकले आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले सबै बालबालिकालाई नियमित विद्यालय जान र शिक्षाबाट वञ्चित हुन नदिन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले शिक्षा सामाजिक रूपान्तरणको आधार भएकाले बालबालिकाको सिकाइमा सहयोग पुग्ने कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।

वडा सदस्य लक्ष्मी लुहारले दलित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन अभिभावक, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। अभियन्ता अन्तराम वडले बालविवाह, बालश्रम, विद्यालय छाड्ने प्रवृत्ति तथा सामाजिक विभेद अन्त्य गर्न शिक्षा नै सबैभन्दा प्रभावकारी माध्यम भएकाले प्रत्येक बालबालिकालाई विद्यालयमा टिकाइराख्न समुदायको साझा दायित्व रहेको बताउनुभयो।

राष्ट्रिय हलिया मुक्ति समाज, कञ्चनपुरका अध्यक्ष शिबी लुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित समुदायका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयमा नियमित उपस्थितिका लागि प्रेरणा तथा अभिभावकको भूमिकाबारे जनचेतनामूलक सहजीकरण गरिएको थियो। संस्थाले आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षामा पहुँच र निरन्तरता दिलाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img